३ असार २०८१, आईतवार Sunday 16 June, 2024

उम्मेदवार मनोनयनपछि संसद् रहँदैन : प्रचण्ड

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को आयु नलम्बिने दाबी गरेका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेको प्रचण्डले गठबन्धनमा संसदको आयु लम्ब्याउन हुँदैन भनेर छलफल भएकाले कुनै हालतमा संसद्को आयु लम्बिन नहुने बताए ।

मंसिरको निर्वाचनका लागि उम्मेदवार मनोनयनपछि यो संसद् नरहने उनले बताए । ‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन । एक दिन पनि लम्ब्याउनु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मंसिर चारपछि संसद् रहँदैन, दुविधा छैन’, अध्यक्ष प्रचण्डले भने ।

गठबन्धनमा सिट संख्या, क्षेत्र र प्रदेश एकैचोटी टुङ्ग्याउने भनेर गठबन्धन लागिरहेको पनि अध्यक्ष प्रचण्डले बताए । प्रचण्डले भने- ‘कार्यदलमा आज टुङ्ग्याउने भनेर काम गरिरहनुभएको छ । भोलि हामी त्यसलाई अन्तिम रूप दिन्छौँ’

सिट संख्यामा आ–आफ्नै दाबी हुने भए पनि कांग्रेसले सुरुमा सय भने पनि अहिले ८० को वरिपरि आउने सम्भावना रहेको प्रचण्डको भनाई थियो । त्यस्तै माओवादीले ६० मा दाबी गरेपनि केही सङ्ख्या तलमाथि हुनसक्ने भन्दै नेकपा एकीकृत समाजवादी र नेसपामा पनि २५ सिटको वरिपरिबाटै सहमति खोजिने उनले बताए ।

‘हामीले पनि ६० भनेका छौ, ६० बाट केही तलमाथि होला, त्यसैमा सहमति हुन्छ भन्ने हाम्रो विश्वास छ । यसैलाई आधार बनाए र सबै पार्टीका प्रतिनिधि बसेर मिलेको जति मिलाउने नमिलेको स्थानमा शीर्ष बसेर मिलाउने कुरा छ ’, प्रचण्डले भने ।

यस्तै अध्यक्ष प्रचण्डले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुन सकेमात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिने दाबी गरे । निर्वाचन प्रणाली र शासकीय प्रणाली नागरिक र देशको आवश्यकताको अनुकूल नरहेको भन्दै यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीका कारणले भ्रष्टाचार धेरै मौलाएको प्रचण्डले उल्लेख गरे ।

निर्वाचन र शासन प्रणालीमा सुधार हुन आवश्यक रहेको बताउँदै यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान नदिने जिकिर पनि गरे । ‘हाम्रो निर्वाचन प्रणाली र शासकीय प्रणाली जनताको आवश्यकता र राष्ट्रको आवश्यकताको अनुकूल छैन । यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीको कारणले भ्रष्टाचार धेरै मौलाउने कारण त्यसैभित्र लुकेको छ’, अध्यक्ष प्रचण्डले भने- ‘त्यसैले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गर्नुपर्छ । यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान दिँदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने मात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिन्छ । यो प्रमाणित भइसकेको छ ।’

अध्यक्ष प्रचण्डले विगत ५ वर्षमा सरकारले नागरिकको आशाअनुसारको काम गर्न नसकेको स्वीकार गरे । वाम एकतापछि आफूले धेरै ठूलो सपना देखेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेकोले नागरिकका सपना पूरा गर्न नपाएको उनले दाबी गरे । उनले देशमा राजनीतिक स्थिरताको आवश्यकता रहेको उल्लेख गर्दै चुनावपछि बन्ने सरकारले नागरिकका सपना पूरा गर्ने प्रतिबद्धता जनाए ।

यो पनि

पाँच बर्षमा जनताका काम गर्न सकेनौँ : प्रचण्ड

प्रतिक्रिया सबै