२९ असार २०८१, शुक्रबार Friday 12 July, 2024

गठबन्धनको भविष्यमाथी प्रश्न उठ्यो : माधव नेपाल

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको भविष्यमाथी प्रश्न उठेको टिप्पणी गरेका छन् ।

पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे ।

अध्यक्ष नेपालले गठबन्धनभित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए । त्यसका लागि पार्टीको हैसियत र सामर्थ्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उनले बताए ।

चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टी पंक्तिलाई अध्यक्ष नेपालले सचेत पनि गराए । ‘अब काठमाडौं र सदरमुकाममा बस्ने होइन । अब बस्तीबस्तीमा जाने हो । त्यसका निम्ति को उठ्यो ? ठूलो कुरा होइन’, उनले भने । अध्यक्ष नेपालले दलित समुदायमाथि अपहेलना गर्नेहरुलाई पार्टीको सदस्यता नदिने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया सबै