३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

सन्दीप लामिछानेमाथि प्रहरीले सुरू गर्‍यो निगरानी

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन् । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपविरुद्ध गलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार भदौ ५ गते मध्यराती काठमाडौं-९ सिनामंगलस्थित एक होटलमा पुर्‍याएर सन्दीपले आफूमाथि पटक-पटक बलात्कार गरेको भन्दै १७ वर्षीया ती किशोरीले गौशालामा जाहेरी दिएकी छन् । त्यसअघि उनीहरू भक्तपुरको नगरकोट पनि पुगेको देखिएको छ ।

प्रहरीले घटनाको मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने र बयान लिने काम पनि अगाडि बढाएको छ । प्रहरीले काठमाडौं र नगरकोटमा बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ । बुधबार कागजी कामहरू सकाएर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी माग्ने प्रहरीको तयारी छ ।

क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी नेपाल कहिले फर्किन्छन् टुंगो छैन । उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ । सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ । सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार प्रमाण संकलन भएपछि सन्दीपलाई लिग सकिनुअघि नै नेपाल ल्याउन प्रक्रिया थाल्ने-नथाल्ने निर्धारण हुनेछ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले सन्दीप लामिछानेमाथि निगरानी थालिसकेको बताए । सामान्य रूपमा बोलाएर आउने सम्भावना पनि न्यून भएको उनको भनाई छ ।

नेपाल ल्याउन प्रहरीले अन्तर्राष्ट्रिय प्रहरीसँग औपचारिक/अनौपचारिक रूपमा काम गर्ने बताए । उनका अनुसार आरोप पुष्टि हुने प्रमाणहरू बलियो भएमा त्यहाँको स्थानीय प्रहरीलाई अनुरोध गरेर पनि ल्याउन सकिन्छ । नेपालमा भएको भए प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्थ्यो । विदेशमा भएको हुनाले कानुनी प्रक्रिया पुर्‍याएर जाने उनले बताए । अनुसन्धान अधिकृतले अनुसन्धान गर्दै जाँदा आवश्यक परेमा इन्टरपोलमार्फत् पक्राउ पुर्जी जारी गर्न सकिने उको भनाई छ ।

इन्टरपोलबाट पुर्जी जारी गर्न पनि अदालतको अनुमति माग्नुपर्छ । उनलाई विभिन्न माध्यमबाट पक्राउ गरी नेपाल ल्याउन सकिने भए पनि कहिले ल्याउने भन्ने टुंगो लागेको छैन । प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ । एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर उनको स्वास्थ्य परीक्षण गरिएको हो ।

 

प्रतिक्रिया सबै