१० असार २०८१, आईतवार Sunday 23 June, 2024

सार्वजनिक कार्यक्रममै प्रचण्ड-जनार्दनबीच भनाभन

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममा घोचपेच भएको छ । काठमाडौंमा बुधबार अखिल क्रान्तिकारीले गठन गरेको क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्ड र अर्थमन्त्री समेत रहेका शर्माबीच नीति र नेतृत्वका बारेमा घोचपेच भएको हो ।

अध्यक्ष प्रचण्डअघि बोलेका जनार्दनले नीति र नेतृत्व सही ढंगले चल्न नसकेकोमा असन्तुष्टि जनाए । ‘म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । त्यो कुरामा म गम्भीर छु । तर नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग हो’, उनले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भने ।

प्रचण्डले पनि जनादर्नलाई सोही शैलीमा जवाफ फर्काउँदै जनार्दनलाई आफैँले हुर्काएको र रक्षा गरेको बताए । नीति र नेतृत्वको रक्षाको कुरा, म तपाईँहरूलाई भन्न चाहन्छु- ‘जनार्दनलाई हुर्काउन र रक्षा गर्न पनि प्रचण्डको मुख्य भूमिका छ । उनको रक्षा र विकास गर्ने कुरामा मेरो भूमिका छ । मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधान सभाको पनि नेतृत्व गरेँ, गणतन्त्रको पनि नेतृत्व गरेँ । मेरो लागि धेरै चिज भएकै छ । अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होउन् भन्ने हो । उनीहरूले पार्टीलाई एकताबद्ध गराउन, क्रान्तिकारीलाई एकै ठाउँमा ल्याउन र हाम्रो विरासत जोगाइराखुन् ।’

कार्यक्रममा प्रचण्डले अहिले चुनावको लडाइँमा जाँदै गर्दा पार्टीको नीति सडक, सदन र सरकारका तीन वटै मोर्चाबाट संघर्ष गरेर मात्रै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने हुनुपर्ने बताए । सडकको हिरो युवा विद्यार्थी भएको र विद्यार्थी सडकमा नआएसम्म देशमा परिवर्तन नहुने भएकाले टोल-टोलमा अभियान चलाउन पनि प्रचण्डले निर्देशन दिए ।

आफू देशव्यापी प्रशिक्षणमा जाँदा पनि अहिलेको चुनावी प्रणालीमाथि प्रश्न गरिरहेको भन्दै प्रचण्डले अहिलेको महँगो चुनाव लड्न माओवादीलाई समस्या भइरहेको बताए । प्रतिगामीहरूले माओवादीले लडेर ल्याएको संविधान र नागरिकका अधिकार खोस्ने प्रयास गरिरहेको भन्दै प्रचण्डले विरोधीविरुद्ध एकजुट हुन पनि आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया सबै