९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

गठबन्धनविरुद्ध बोल्नु कांग्रेस सिद्धाउने षड्यन्त्र हो : देउवा

 शुक्रबार, भदौ २४ २०७९  

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेस चितवनले आज शुक्रवार आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ को समापन एवम् विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु नहुने पनि बताए ।

गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिद्ध्याउने षड्यन्त्र भएको पनि बताए । ‘बल्ल-बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिद्ध्याएर के हुन्छ । यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन’, उनले भने ।

गठबन्धन गर्दा पार्टीलाई बढी भन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा जोड दिँदै उनले भने- ‘गठबन्धनमा बढी भन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नु हुँदैन । यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नु हुँदैन ।’

गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको बताउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर चुनावमा लाग्न आग्रह समेत गरे ।

गठबन्धन भएर सरकार बनेकै कारण नेकपा एमालेको एकलौटी अन्त्य भएको उनको भनाई थियो । ‘उनीहरूको एकलौटी चलेको छैन, मनोपोली चलेको छैन’, उनले भने । हिजो बाहिर हुँदा तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको बताए । देउवाले भने- ‘हिजोको अवस्था कस्तो थियो । ओली सरकारलाई हटाउनु पर्‍यो, हटाउनु पर्‍यो भनेको होइन सबैले ।’

उनले भने- ‘अहिले यो हुँदैन, त्यो हुँदैन भन्नु हुँदैन । कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु ।’ वर्तमान सरकारले स्थानीय तहको निर्वाचन निष्पक्ष स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरेको र आगामी मंसिर हुने प्रदेश सभा र संघको निर्वाचन पनि शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न हुने प्रधानमन्त्री देउवाले बताए ।

प्रतिक्रिया सबै