३ असार २०८१, आईतवार Sunday 16 June, 2024

दार्चुलामा बाढी र पहिरो : १ जनाको मृत्यु, ६ जना बेपत्ता, दर्जन घर पुरिए

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । दार्चुलामा शुक्रवार रातिदेखिको लगातारको वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम खलङ्गाको बंगाबाड क्षेत्रमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार मृत्यु हुनेमा नौगाड गाउँपालिकाका-३५ वर्षीय चिमणे ठगुन्ना रहेका छन् । यस्तै, महाकाली नगरपालिका ३ डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह, मानमती, दीपक, दिनेश कार्की बेपत्ता भएका छन् । यस्तै नौगाडकै कासी ठगुन्ना र रम्बा ठगुन्ना पनि घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । ती जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेको छ ।

बाढीले दर्जनौँ घर बगाउनुका साथै लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य भइरहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ ।

त्यस्तै महाकाली नगरपालिका ३ लास्को खोलाले रोकेर राखेका सात वटा गाडीसमेत बगाएको छ । घटनास्थल क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् ।

शुक्रबार रातिदेखि परेको लगातारको वर्षाले दार्चुला–तिङ्कर सडकमा पर्ने लास्कुखोलामाथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ । बिहानदेखि पानी पर्न छोडे पनि ती क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

प्रतिक्रिया सबै