३० असार २०८१, शनिबार Saturday 13 July, 2024

सत्ता गठबन्धनलाई ओलीको प्रश्न: प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

 शनिबार, भदौ २५ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा शंशोधन प्रस्ताव ल्याउन सरकारसँग आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग एमाले अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले विचारारार्थ पठाएको विधेयकमा शंशोधन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

ओलीले भने- ‘यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेछन् भनेर विधेयक ल्याए हुन्छ । सरकारले चाहेको खण्डमा यति काम तीन दिनमा हुन्छ ।’

तनाव बढाएर नागरिकता विधेयकको समस्या समाधान नहुने उनले बताए । ओलीले विचारारार्थ पठाएको विधेयकलाई जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काएजस्तै भएको बताए ।

‘संसदभन्दा बाहिरबाट निर्णय गरेर मसल देखाउने ? छक्का हानेर रिङ आउट गर्दिन्छौँ भन्ने ?, राष्ट्रपतिले विचार विमर्शका लागि पठाएको प्रस्तावलाई हेर्दा पनि हेर्दैनौं भन्ने यति अंहकारी पनि सत्ता पक्ष हुन्छ ? प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?’ ओलीले भने- ‘यो बाउन्सर लगाएर ठिक गर्ने कुरा होइन । संसद् तर्क र विधिविधानले चल्छ ।’

उनले सरकारले तनाव बढाउन खोजेको आरोप लगाउँदै हरेक आरोप प्रतिपक्षीलाई लगाउन सरकार प्रयासरत रहेको बताए । भ्रम फैल्याएर भोटको राजनीति गर्न खोजेको ओलीको भनाई थियो ।

‘यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेछन् भनेर विधेयक ल्याए हुन्छ । सरकारले चाहेको खण्डमा यति तीनदिनमा हुन्छ’, उनले भने ।

राष्ट्रिय राजनीतिलाई द्वन्द्वमा लैजाने गठबन्धनको उद्धेश्य रहेको भन्दै उनले लाखौंको संख्या कर्मचारी नियुक्त गर्न सरकारले खोजेको दाबी गरे । ‘दुईचार जनाले पाखुरा देखाएर सरकार चलाउने र जनताले भेडाबाख्रा जस्तो गरेर बसिदिनु पर्ने हो ?’, उनले प्रश्न गरे ।

 

प्रतिक्रिया सबै