६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

पीएनजीमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)मा आइतबार ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार पीएनजीको इस्टर्न न्युगिनी क्षेत्रलाई केन्द्र बनाएको गएको भूकम्पको कारण संरचनाहरु भत्किएका छन् भने मानिसहरुमा त्रास फैलिएको छ ।

यद्यपि अहिलेसम्म भूकम्पमा परी कसैको पनि मृत्यु भएको समाचार सार्वजनिक भएको छैन । युरोपेली भूकम्प मापन केन्द्रका अनुसार जमिनभन्दा ८० किलोमिटर मुनिबाट उक्त भूकम्प उत्पत्ति भएको हो ।

अमेरिकाको सुनामी चेतावनी प्रणालीले सुरुमा सुनामीको चेतावनी दिए पनि पछि उक्त जोखिम टरेको बताएको थियो ।

पीएनजीमा भूकम्प जानु सामान्य मानिन्छ । बेलाबेलामा यो मुलुकमा ठूलोसानो भूकम्प गइरहने गर्छ ।

सन् २०१८ मा पीएनजीको ग्रामीण पहाडी क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो भने हजारौं घरहरु ध्वस्त भएका थिए ।

प्रतिक्रिया सबै