१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

युक्रेनले रुसबाट खोस्यो आफ्ना पूर्वी सहर

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । युक्रेनको सेनाले आफ्नो केही पूर्वी सहरलाई पुनः नियन्त्रणमा लिएको छ ।

युक्रेनका अधिकारीहरुले दिएको जानकारी अनुसार युक्रेनका सेनाले कुपिनास्क सहरलाई आफ्नो नियन्त्रणमा लिएका हुन् । पूर्वी आपूर्तिको लागि यो सहर निकै महत्वपूर्ण मानिएको छ । शनिबार युक्रेनी सेनाले उक्त सहरमा आफ्नो नियन्त्रण हासिल गरेको हो ।

रुसको रक्षा मन्त्रालयले पनि यो समाचार सार्वजनिक भएसँगै आफ्नो सेनाले पनि पुनः संगठित भएर आक्रमण बढाइने बताएको छ । मन्त्रालयले आफ्ना सेना तेस्रो प्रमुख सहर बालाक्लियाबाट पनि फिर्ता भएको पुष्टि गरेको छ ।

गत अप्रिलमा रुसी सेना किभबाट फिर्ता भएयता युक्रेनी सेनाको यो सबैभन्दा ठूलो उपलब्धि भएको बीबीसीले उल्लेख गरेको छ ।

शनिबार राति एक भिडियो जारी गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई हजार वर्गकिलोमिटरको भू-भाग स्वतन्त्र गरेको दाबी गरेका छन् ।

रुसी सेना इजुएम सहरबाट फिर्ता हुनु युक्रेनको लागि महत्वपूर्ण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो सहर रुसी सेनाको लागि प्रमुख सैन्य केन्द्रको रुपमा रहेको थियो । इजुएम र बालाक्लिया सहरको सेनालाई डेनोट्समा फिर्ता गरिएको रुसले बताएको छ ।

प्रतिक्रिया सबै