६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

बालुवाटारमा सिट बाँडफाँट टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

 सोमवार, भदौ २७ २०७९  

काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउन सोमबार बिहान पनि सत्ता गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आइतबारको बैठक निष्कर्षविहीन बनेपछि सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठक पुनः बस्न लागेको हो । बैठक सोमबार बिहान ८ बजेका लागि बोलाइएको छ ।

दलहरुले आ(आफ्नो दाबी नछाडेपछि आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सकस परेको छ ।

सोमबार बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बताए । सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उनको भनाइ छ ।

सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदलले ठोस सहमति जुटाउन नसकेपछि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन शीर्ष नेताहरूलाई नै जिम्मा लगाएको थियो ।

सत्तारुढ पाँच दलमा नेपाली कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको छ भने माओवादी केन्द्रले ६० सिट पाउनु पर्ने अडान लिएको छ । यस्तै, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।

सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ । सिट बाँडफाँटमा महिनौंसम्म सहमति जुटाउन नसके पनि अहिल्यै गठबन्धन टुट्ने सम्भावना भने नरहेको नेताहरूको भनाइ छ ।

प्रतिक्रिया सबै