१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

चिनियाँ नेता ली चाङ्सुले सभामुखसँग आजै वार्ता गर्ने, देउवा, प्रचण्ड र ओलीसँग भोली

 सोमवार, भदौ २७ २०७९  

काठमाडौं । चीनका नेशनल पिपुल्स कंग्रेसका सभामुख ली चाङ्सु सोमबारदेखि तीन दिने भ्रमणमा नेपाल आउँदैछन् । चिनियाँ विशेष विमानबाट ९६ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ली दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्दैछन् । त्रिभुवन विमानस्थलमा सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहितले उनलाई स्वागत गर्ने छन् ।

चिनियाँ सभामुख लीले सोमबारको कार्यसूचीअनुसार नेपाली समकक्षी अग्नि सापकोटासँग अपरान्ह पौने पाँच बजे संसद भवनमा भेटवार्ता गर्ने भएका छन् । सोमबार बेलुकी साढे सात बजे उनको सम्मानमा सभामुख सापकोटाले सोल्टी होटलमा रात्रिभोज आयोजना गरेका छन् । बेलुकी नौ बजे ली फेरि संसद भवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।

तेस्रो दिन चिनियाँ सभामुखका अधिकांश भेटघाटका कार्यक्रम मंगलबारका लागि तय भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग मंगलबार बिहान सवा ९ बजे संघीय संसद भवनमा भेटवार्ता गर्ने छन् । त्यसपछि सभामुख लीले अन्य नेपाली नेताहरुसँग भेटवार्तालाई निरन्तरता दिने छन् ।

संसद भवनमै मंगलबार बिहान १० बजे संसदको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब ४५ मिनेट वार्ता गरेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ताको कार्यसूची छ ।

त्यसपछि केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यक्रम छ ।

खानापछि दिउँसो ३ बजे सभामुख ली र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच करिब ४० मिनेट भेटवार्ता समय निर्धारण गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग भने सभामुख लीले बेलुकी अपरान्ह ४ बजेर ५ मिनेटदेखि बालुवाटारमा आधा घण्टा वार्ता गर्ने कार्यक्रम छ ।

गत असारमा नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रभुख लीउ चियानचाओले भक्तपुर दरबार स्क्वायर भ्रमण गरेका थिए । यो पटक पनि लीको प्रतिनिधिमण्डलले बुधबार बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म दुई घण्टा भक्तपुर भ्रमण गर्ने भएको छ ।

त्यसपछि बेलुकी ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारी र लीबीचमा भेटवार्ता गर्ने कार्यक्रम छ । करिब १ घण्टा राष्ट्रपति निवासमा बिताएपछि बेलुकी ५ बजे लीको प्रतिनिधिमण्डल संघीय संसद भवनमा फोटो सेसनका लागि पुग्नेछ ।

बेलुकी ५ ः २० बजे चिनियाँ प्रतिनिधिमण्डल र सभामुख सापकोटाबीच भेटवार्ता तय गरिएको छ । यस वार्तामा नेपाल र चीनबीच सांसद आदानप्रदानसम्बन्धी समझदारीमा हस्ताक्षर हुने कार्यतालिका छ ।

प्रतिक्रिया सबै