३० असार २०८१, शनिबार Saturday 13 July, 2024

चिनियाँ नेता ली चाङ्सुलाई प्रचण्डले भने- ‘व्यापार घाटा कम गराउन पहल गरियोस्’

 मङ्लबार, भदौ २८ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुसँग नेपालको व्यापार घाटा कम गराउन पहल गर्न आग्रह गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा भएको भेटमा अध्यक्ष प्रचण्डले चीनसँग बढ्दै गएको व्यापार घाटा सन्तुलनमा ल्याउन सहयोग गर्न आग्रह गरेका हुन् ।

चाङ्सुसँग प्चण्डले राखेको भनाई उधृत गर्दै उनका स्वकीय सचिव रमेश मल्लले भने- ‘चीनसँगको नेपालको व्यापार घाटा फराकिलो बन्दै गयो । यसलाई सन्तुलनमा ल्याउन चिनियाँ सरकारले ठूलो छाती गराउनुपर्छ, उदार भइदिनुपर्छ ।’ चाङ्सुले चीन सरकारलाई यसबारेमा भनेर सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

चाङ्सुले भने- ‘हामी जोड दिएर सरकारलाई भन्ने छौं, नेपालमा देखिएको यो समस्या समाधान गर्न चिनियाँ सरकारको ध्यानाकर्षण गराएर सम्बोधन गराउँछौं ।’ गत आर्थिक वर्षमा नेपालको चीनसँगको व्यापार घाटा २ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँ छ ।

नेपालबाट बस्तु निर्यात जम्मा ८० करोड ८७ लाख रुपैयाँ बराबरको मात्र भएको छ भने बस्तु आयात २ खर्ब ६४ अर्ब ७ करोड रुपैयाँ बराबरको भएको छ ।

प्रतिक्रिया सबै