१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

कोभिडबाट प्रभावित ३ हजार ६ सय नेपाली र बालबालिकालाई चीन सरकारको राहत

 शुक्रबार, भदौ ३१ २०७९  

काठमाडौं । कोभिड-१९ महामारीबाट प्रभावित ३ हजार ६ सय नेपाली परिवार र बालबालिकालाई चीन सरकारले खाद्यान्न राहत प्याकेज मार्फत सहयोग गरेको छ ।

चिनियाँ सरकार, ग्लोबल डेभलपमेन्ट एन्ड साउथ कोअपरेसन फण्ड र चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सचेन्जको सहयोगमा, चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपालको कार्यालयले कोभिड–१९ महामारीबाट प्रभावित परिवार र बालबालिकालाई खाद्यान्न राहत प्याकेज वितरण गरेको हो ।

काठमाडौंको कीर्तिपुरस्थित श्री बालकुमारी माविमा एक औपचारिक कार्यक्रमबाट शुभारम्भ गरिएको उक्त परियोजनाले लक्षित परिवारलाई दुई महिनाको खाद्यान्न पर्याप्तता पूरा गर्ने लक्ष्यका साथ आधारभूत खाद्य सामाग्री (चामल) २५ केजी, खाना पकाउने तेल (२ लिटर) र दाल (६ केजी) वितरण गर्नेछ ।

कार्यक्रममा बोल्दै सीएफआरडी नेपालका देशीय निर्देशक सुश्री जोउ झिकियाङले आयोजना अन्तर्गतका खाद्य प्याकहरू देशका ४ जिल्ला दोलखा, काठमाडौं, महोत्तरी र सप्तरीका २२ सामुदायिक विद्यालयमार्फत वितरण गरिने बताइन् ।

चाडै नै आउंदै गरेको राष्ट्रिय चाड दशैं र तिहार मनाउन सहयोग गरिएका खाद्यान्न सामग्रीहरू उनीहरूका लागि ठूलो राहत हुनेछ भन्ने आशा राख्दै उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।

देशका गरिब बालबालिका र परिवारले भोग्नुपरेको भोकमरीको समस्यालाई उन्मूलन गर्ने र उनीहरूलाई स्वस्थ रूपमा हुर्काउन सहयोग गर्ने र त्यससँगै चिनियाँ जनताको मित्रताको सन्देश पुर्याउने, जनताबीचको सम्बन्धलाई मजबुत बनाउने यस परियोजनाको उद्देश्य रहेको छ । खाद्य प्याकेज वितरण कार्यक्रम अन्तर्राष्ट्रिय समाइलिंग चिल्ड्रेन प्रोग्रामु को उप-कार्यक्रम हो ।

प्रतिक्रिया सबै