१० असार २०८१, आईतवार Sunday 23 June, 2024

लोकतन्त्र नेपाली जनताको शासन हो, बाह्य हस्तक्षेप स्वीकार्य छैन : ओली

 शनिबार, अशोज १ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र नेपाली जनताको शासन भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । संविधान दिवसको अवसरमा आज बिहान काठमाडौंमा पार्टीद्वारा आयोजित पदयात्रालाई सम्बोधन गर्दै ओलीले भने- ‘नेपाल नेपालीको हो । नेपाल अरु कसैले चलाउने होइन । लोकतन्त्र नेपालको शासन हो । नेपाली जनताको शासन हो । नेपाली जनता, लोकतन्त्र हार्न हुँदैन, विकास हार्न हुँदैन, सुशासनको प्रयास हार्न हुँदैन ।’

संविधान दिवस राष्ट्रिय चाड भएकाले यसलाई जनस्तरबाट मनाइनुपर्ने पनि उनले बताए । ‘यो सरकारी नभएर राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्दछ । यो आजसम्म हुन सकेको थिएन हामीले यसको सुरुवात गरेका छौं’, उनले भने- ‘नेपाललाई द्वन्द्वमा फसाउने र लोकतान्त्रिक बाटोमा जान नदिने कुचेष्टा भए । ती सबैलाई पराजित गरेर हामीले देशलाई लोकतन्त्रको बाटोमा हिँडायौं ।’

अहिले गठबन्धनले देशलाई ओरालो लगाइरहेको उनको टिप्पणी छ । लोकतन्त्र सुदृढ बनाउने, विकास र सुशासनयुक्त दिशामा अघि बढ्न एमाले लागेकाले मंसिर ४ गते देश, लोकतन्त्र र संविधानलाई हार्न दिन नहुनेमा ओलीले जोड दिए ।

लोकतन्त्र, राष्ट्रियताको पक्षमा लाग्न आव्हान गर्दै ओलीले भने- ‘देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूमा मेरो अनुरोध लोकतन्त्र, राष्ट्रियताको पक्षमा, नेपालको सम्पूर्ण भूभाग हाम्रो हो, राष्ट्रिय अखण्डताको पक्षमा लाग्न आग्रह गर्छु ।’

पदयात्राको उपस्थिति र उत्साहले संविधान, राष्ट्रियता र लोकतन्त्र र देशलाई सही बाटोमा अघि बढाउने संकल्प देखिएको भन्दै उनले धन्यवादसमेत दिए ।

प्रतिक्रिया सबै