३० असार २०८१, शनिबार Saturday 13 July, 2024

संसद्को पाँचबर्षे कार्यकाल पूरा

 शनिबार, अशोज १ २०७९  

काठमाडौं । प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल आजदेखि सकिँदैछ । २०७२ मा संविधान जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो ।

सरकारले प्रतिनिधि सभाको ११औँ अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपतिलाई सिफारिस गरिसकेको छ । आज राति १२ बजेदेखि बर्खे अधिवेशनको अन्त्यसँगै प्रतिनिधि सभा निष्क्रिय हुनेछ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि भोलि र पर्सि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका रहेकाले आजदेखि संसद्को कार्यकाल पूरा हुँदैछ । विगतको अभ्यास र अनुभवका आधारमा प्रतिनिधि सभाको कार्यकाल आजसम्म कायम रहनेबारे निर्वाचन आयोगले संसद् सचिवालयलाई राय दिएको छ । तर, संसद् सचिवालयले भने औपचारिक रुपमा यसबारे केही भनेका ेछ । प्रमुख प्रतिपक्षी एमालेले भने हिजो नै आफ्ना सांसदहरूको बिदाइ गर्दै चुनावमा खटिन निर्देशन दिएको छ ।

२०७४ सालको मंसिर १० र २१ गते चुनाव भएपछि फागुन २१ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको यो कार्यकालमा ७५ विधेयक पारित भएको छ भने यसबीचमा ४९ वटा अध्यादेश ल्याइएको छ । २७ विधेयक भने निस्क्रिय भएका छन् । प्रतिनिधि सभाको यो कार्यकालमा व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएको छ भने लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको चुच्चे नक्सा सर्वसम्मत पारित गरेर संविधानको अनुसूचीमा समावेश गरिएको छ ।

यो कार्यकालमा प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग लगाए पनि प्रक्रियामै लैजान साढे पाँच महिना लगाउँदा टुङ्गोमा पुग्न सकेको छैन । महाअभियोग अब के हुन्छ भन्ने कानुनी अन्योल नै छ । दोस्रोपटक प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पुगेको नागरिकता विधेयक पनि के हुन्छ अन्योल नै छ ।

प्रतिक्रिया सबै