१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

कैलालीको पूर्वी क्षेत्रका बस्ती डुबानमा

 शनिबार, अशोज १ २०७९  

काठमाडौं । वर्षाका कारण कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ । बाढीले बस्ती डुबानमा परेका छन् । कैलाली प्रहरीका अनुसार वर्षाका कारण कान्द्रा, मोहना नदीका साथै स-साना नदीको बहाव बढेपछि त्यसक्षेत्रका बस्तीहरु डुबानमा परेका छन् ।

कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका एक सय ६० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोही नगरपालिका वडा नम्बर–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका दुई सय ५० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

यस्तै, कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिणपूर्वी टोलका दुई सय ५० घर डुबानमा परेका छन् । डुबानमा मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। नदीको वहाव बढ्ने क्रम जारी रहेकाले सर्तक रहन आग्रह गरिएको ।

कैलालीको चुरे गाउपालिका वडा नम्बर ६ बालकोट स्थित भिमदत्त राजमार्गमा अविरल बर्षाका कारण माथिबाट पहिरो खस्न गई बाटो अवरोध भएको छ । प्रहरी निरिक्षक धर्म सिंह बिष्टको कमाण्डमा छ जनाको प्रहरी टोलीले अवरुद्ध बाटो खोल्ने प्रयास गरिरहेको जनाइएको छ । पहिरोले बाटो अवरुद्ध गर्दा सानो ठुलो गरी ९/१० वटा गाडी रोकिएको कैलाली प्रहरी प्रवक्ता जोशीको भनाई छ । भिमदत्त राजमार्गको अन्य ४।५ स्थानमा पनि सा–साना पहिरो गई सडक अबरोध भएको छ ।

प्रतिक्रिया सबै