९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

रसुवागढी नाकाबाट भित्रिन थाले कन्टेनर

 आइतवार, अशोज २ २०७९  

काठमाडौं । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात् सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ ।

आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो ।

गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात् तीन दिनको अन्तरालमा ५६ चिनियाँ मालबाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भूभागमा मालसामान ल्याइरहेको सीमा सुरक्षाकर्मीले बताएका छन् । गत बिहीबार १४, शुक्रबार तथा शनिबार २१–२१ चिनियाँ कन्टेनरले रसुवागढीमा मालसामान ल्याएका बताइएको छ ।

सामान आयातमा विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनरमात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१ कन्टनेरबाट सामान उपलब्ध गराएको जनाइएको छ । यसबाट उपभोक्ताको माग आपूर्तिमा सहज भएको तथा पालो कुरेर बेरोजगार बसिरहेका यहाँका सयौँ सवारी चालकलाई थप रोजगारी मिलेको छ ।

बडादसैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गराएको सामग्रीमध्ये दुई कन्टेनर दाँतेओखर र ४६ कन्टेनर तयारी पोसाक रहेको प्रहरीले जनाएको छ । यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनबाट आयात भएका सामग्री पासाङल्हामु मार्ग बन्द भएपछि सबै कन्टेनरलाई स्याफ्रु, मैलुङतर्फबाट काठमाडौँ पठाइएको बताए । भारी वर्षाका कारण मैलुङ खण्डको जीर्ण राजमार्गलाई गल्छी, त्रिशूली, रसुवागढी सडक सुधार आयोजनाको रेखदेख गरिरहेको छ । अर्कोतर्फ समस्या पर्दा दुई सय १६ मेगावाट अपरत्रिशूली वान जलविद्युत् आयोजनाको समेत सहयोग मिल्ने भएका कारण मालवाहक कन्टेनर डिब्बा मैलुङतर्फबाट काठमाडौँ पठाइएको छ ।

बनुवा घुम्तीको पासाङल्हामु मार्ग बन्द भएपश्चात् उत्तरी रसुवाको विकास निर्माणका कार्य ठप्प हुनुका साथै उपकरण ढुवानी गर्न नपाउँदा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासमेत प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया सबै