९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

राष्ट्रपतिबाट संविधानमाथि बेइमानी भयो, तत्काल राजीनामा दिनुपर्छ : बलराम केसी

 बुधबार, अशोज ५ २०७९  

काठमाडौं । पूर्वन्यायाधीश बलराम केसीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गम्भीर उल्लंघन गरेको बताएका छन् ।

संसद (प्रतिनिधि सभा) भएको भए महाअभियोग लगाउनुपर्ने गरी राष्ट्रपतिले संविधानको उल्लंघन गरेको भन्दै उनले तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।

राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिक विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाले हुबहु पास गरेको थियो ।

२० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए । संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज (मंगलबार मध्यरात)सम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश केसी भन्छन्, ‘राष्ट्रपतिबाट संविधानको गम्भीर उल्लंघन भयो । यो क्षमा हुनुहुँदैन । संसद भइदिएको भए पास होस् नहोस् महाअभियोग लगाउनुपर्थ्यो ।’

‘एउटा राष्ट्रपतिले भर्खर लागू भएको संविधानको ६/७ वटा धारा उल्लंघन गरेर पदमा बस्न मिल्छ ?’ पूर्वन्यायाधीश केसी भन्छन्, ‘संसद नभएका कारण महाअभियोग लगाउने कुरा आएन । उहाँले जुन अहिले नेपाली नागरिकले संविधान पालना गर्नका लागि हो, संविधान उल्लंघन गर्न यो गरिक देशले ३० करोडको मोटरगाडी चढाएर सुरक्षा घेरामा राखेको होइन । उहाँबाट संविधानउपर ठूलो बेइमानी भयो । तरुन्त राजीनामा दिनुपर्छ ।’

राष्ट्रपतिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग तुलना गर्ने लायक काम गरेको उनले टिप्पणी छ । ‘उहाँले चोलेन्द्रशमशेर राणासँग तुलना गर्न लायक काम गर्नुभयो,’ केसी भन्छन्, ‘उहाँले निश्पक्षता पहिले पनि देखाउनु भएको थिएन, अहिले पनि देखाउनुभएन । उहाँका लागि एमालेको सरकार आफ्नो, गठबन्धनको सरकार अरुको जस्तो लाग्छ भन्ने प्रमाणित गरेर देखाउनुभयो । उहाँमा त्यो पदका लागि योग्य हुनुहुँदोरहेनछ भन्ने देखियो ।’

 

 

प्रतिक्रिया सबै