३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

डेंगु संक्रमणबाट २४ जनाको मृत्यु, १९ हजार संक्रमित

 बुधबार, अशोज ५ २०७९  

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार नेपालमा डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २४ पुगेको हो ।

असारयता डेंगी तीव्र रूपमा फैलिएको महाशाखाले जनाएको छ । महाशाखाको तथ्यांकानुसार असोज ४ गतेसम्म संक्रमितको संख्या १९ हजार २३ र मृतकको संख्या २४ पुगेको छ ।

यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा पाँच हजार १३१ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा पाँच हजार १०४ र भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १० हजार ९४८ पुगेको
महाशाखाले जनाएको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ८२९ जनामा संक्रमण देखिएको छ । दाङमा एक हजार १८०, रुपन्देहीमा ६७९, चितवनमा ४५१, धादिङमा ३९९, गुल्मीमा २९२ र कैलालीमा २०२ जनामा संक्रमण पुष्टि भएको छ । अरू जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।

चिकित्सकको सल्लाहबिना औषधि खान नहुने विज्ञहरुको भनाई छ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन सुझाव दिँदै डेंगी संक्रमितमा हुने शरीरको दुखाइ कम गर्न पेनकिलर खाँदा आन्तरिक र बाह्य रक्तस्राव भई बिरामीको मृत्यु समेत हुन सक्ने भएकाले पेनकिलरको प्रयोग गर्न नहुने बताएका छन् ।

डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउनु जरुरी हुने चिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया सबै