‘प्रेमगीत ३’ हिन्दी संस्करणलाई सेन्सरको अनुमति
काठमाडौं । चलचित्र विकास बोर्डले हिन्दी संस्करणमा तयार भएको फिल्म ‘प्रेमगीत ३’ लाई विदेशी फिल्म मान्दै सेन्सरका लागि अनुमति दिएको छ ।
निर्माण पक्षले विदेशी फिल्म सरह १५ प्रतिशत कर तिर्ने भएपछि फिल्मलाई सेन्सरको अनुमति दिइएको हो । यसको नेपाली संस्करण पहिला नै सेन्सर भइसकेको छ । तर, हिन्दी संस्करणको आवश्यक कागज नपुगेको भन्दै सेन्सर रोकिएको थियो ।
नेपाली फिल्मलाई पनि १५ प्रतिशत कर तिर्दा दुःख लागेको वितरक मनोज राठीले बताए । फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काले नेपाली फिल्मलाई भाषाकै कारण विदेशी मान्यता दिन नहुने भन्दै आपत्ती जनाएका थिए ।
हिन्दी संस्करणको फिल्मलाई नेपाली फिल्म सरह सुविधा दिन नहुने भन्दै फिल्मकर्मीबीच विवाद भइरहेको थियो । यो फिल्मका वितरक र निर्माताले १५ प्रतिशत कर तिरेपछि मात्रै फिल्मले सेन्सर अनुमति पाएको हो । यो फिल्म असोज ७ गतेदेखि नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुँदैछ ।