३ असार २०८१, आईतवार Sunday 16 June, 2024

राष्ट्रपतिविरुद्ध जसपाद्वारा आन्दोलन घोषणा

 शुक्रबार, अशोज ७ २०७९  

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकर नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो । मुख्य सचिव दिनेश यादवले बिहीबार भर्चुअल मार्फत बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिए ।

असोज ८ गते प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमको सन्दर्भमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायीसँग र सञ्चारकर्मीसँग अन्तरक्रिया गरिने उनको भनाई छ ।

असोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन गर्दै उनको पुतला जलाउने, १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र १५, १६, १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम तय गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले दोस्रो पटक पारित गरि पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले वर्तमान संवैधानिक व्यवस्थामाथि धावा बोलेको जसपाको ठहर छ ।

प्रतिक्रिया सबै