३ असार २०८१, आईतवार Sunday 16 June, 2024

असोज २० भित्र कार्यालय स्थापना गर्न र सहमतिविना निर्वाचन क्षेत्र नछोड्न अधिकृतलाई निर्देशन

 शुक्रबार, अशोज ७ २०७९  

काठमाडौंं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि असोज १५ देखि २० भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न ७७ वटै जिल्लाका निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका हुन् । यसअघि आयोगले सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत तोकेको थियो ।

यस्तै, निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउन भन्दै कार्यालय स्थापना गरेपछि आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछोड्न पनि निर्देशन दिएको छ ।

‘निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय समेत भएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

यस्तै, आयोगले चुनाव चिन्ह ‘लौरो’ स्वतन्त्र उम्मेदवारहरुको हो भनेर गरिएको प्रचार नगर्न निर्देशन दिएको छ । यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न निर्देशन दिएको हो ।

आयोगले हाम्रो नेपाली पार्टीलाई स्पष्टीकरण सोध्दै स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिह्न भनेर गरिएको प्रचार कानुन सम्मत नदेखिएको जनाएको हो ।

‘दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना गर्ने भएकाले त्यस्ता भ्रमक कुराहरु प्रचार प्रसार नगर्न नगराउन अनुरोध छ’ आयोगको पत्रमा उल्लेख छ ।

यस्तै के आधारमा लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनेर प्रचार गरिएको हो ? यसरी प्रचार गर्ने अधिकार कुन कानुनले दियो ? र कानुन विपरीत भ्रम सिर्जना गरेकाले कारबाही किन नगर्ने भनेर हाम्रो नेपाली पार्टी र यसका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले तीन दिने स्पष्टीकरण समेत सोधेको छ ।

प्रतिक्रिया सबै