श्रमजीवी पत्रकारले पाउनुपर्ने बक्यौतासहित सबै सुविधा दिन महासंघको आग्रह
काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी सञ्चारकर्मीले पाउनुपर्ने बाँकी बक्यौतासहित सबै सुविधा उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहसँग आग्रह गरेको छ । विभिन्न सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले निष्कासन गर्ने, दबावपूर्ण विदामा राख्ने, तलव-भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्य हाल पनि जारी रहेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।
महासंघले पटकपटक सम्बन्धित सञ्चार गृहसँग पत्राचार, संवाद तथा दबावका विभिन्न कार्य अघि बढाउँदासमेत त्यसलाई बेवास्ता गर्दै केही सञ्चारगृह यस्ता समस्या समाधानमा अझै गम्भीर र जिम्मेवार नबन्दा ती सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकारका समस्या थप जटिल बन्दै गएको आइतबार विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
‘नेपालीहरूको महान पर्व दसैँ नजिकिँदै गर्दा श्रमजीवी पत्रकारहरू तलवविहीन बन्नु पर्दाको पीडादायी अवस्था विद्यमान छ। एकातिर श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नुपर्नेतर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैन भने अर्कोतिर सञ्चारगृहबाट श्रमजीवी पत्रकारहरूमाथि अन्याय भइरहेको यो अवस्थामा दबावमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ । महासंघ दसैँअगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न मिडिया व्यवस्थापन पक्षसँग हार्दिक आग्रह गर्दछ’, ’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएको तथा पत्रकारहरूका अगाडि आन्दोलनमात्र विकल्प देखिएको अहिलेको अवस्थामा महासंघले केन्द्र, प्रदेश र शाखाहरूमार्फत् श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका सञ्चारगृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निणर्य गरेको विज्ञप्तिमा उल्लेख छ । महासंघले सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका सञ्चारगृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउन आग्रह गरेको छ ।