९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

आजदेखि चाडवाड लक्षित ‘रुट परमिट’ खुला

 सोमवार, अशोज १० २०७९  

काठमाडौं । दसैं, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ ।

दसैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आ-आफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो ।

दसैंका समयमा बर्सेनि काठमाडौं उपत्यकाबाट ठूला संख्यामा यात्रु बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका र यस वर्ष त्यो संख्या २० लाख पुग्नसक्ने बताए ।

काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आ-आफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाडौं बाहिरबाट उपत्यका भित्रिने भए पनि त्यो संख्या कम रहेको महासंघले जनाएको छ ।

यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । कतिपय यात्रु यो महिनाको सुरुदेखि नै जान थालेका छन् भने यो संख्या सोमबारदेखि अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा बढी चाप फूलपाती पछि हुने सिटौलाले बताए ।

दसैं, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रु यो अवधिमा बाहिरिने महासंघले जनाएको छ । सडकमा रहेका खाल्डाखुल्डी र पहिरो पन्छाउन ‘हेभि इक्वुपमेन्ट’ ठाउँठाउँमा राख्न सडक विभागलाई महासंघले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया सबै