धरानको स्वास्तिका चोकमा पानी खस्दा खुशीयाली
काठमाडौं । धरान ११ स्थित स्वास्तिका चोकमा १० इञ्च पाइपबाट पानी ल्याइएको छ । श्रमदानमार्फत सर्दु, खर्दु र निशाने खोलामा तीन साता चलेको श्रमदानमार्फत आइतबार स्वास्तिका चोकमा पानी खसाल्न धराने जनता सफल भएका हुन् ।
मेयर हर्क साम्पाङले स्वास्तिका चोकमा रहेको पानीट्यांकीमा यो पानी मिसाउने बताएका छन् । पाइपबाट पानी खसेपछि बालबालिका, युवा, महिला, वृद्धवृद्धाहरु नुहाएर खुशी मनाएका थिए ।
मेयर साम्पाङले सफलताको श्रेय श्रमदान गर्ने, आर्थिक सहयोग गर्नेहरुको भएको बताए । सहयोगी सबैप्रति आभार पनि प्रकट गर्दै उनले यो योजनापछि अब अर्को खानेपानी योजना शुरु गर्ने पनि जानकारी दिए ।
हाल निशाने, सर्दु दोभानमा पानीट्यांकी निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न भएपछि उक्त ट्यांकीबाट १० इञ्च पाइपमार्फत स्वास्तिका चोकसम्म पानी आउने मेयर साम्पाङको भनाई छ । अहिले भने खोलाको पानी सिधै पाइपमार्फत आएको हो । ट्यांकी निर्माण भइसकेपछि पानी फिल्टर भएर आउनेछ ।