१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

मासु काट्ने स्थानमा झिंगा र किरा !

रिकेश बिश्वकर्मा ‘क्षितिज’
 मङ्लबार, अशोज ११ २०७९  

काभ्रेपलान्चोक । बनेपामा विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका बधशालाको अनुगमन गरिएको छ । बजार अनुगमन समिति, नगर स्तरीय बजार अनुगमन समिति तथा सरोकारवाला निकायहरुले गरेको अनुगमनमा अधिकांश बधस्थल फोहर, अव्यवस्थित र उपभोक्ताको स्वास्थ्यमा जोखिम पर्ने अवस्थामा रहेका पाइएको छ ।

अनुगमनका क्रममा उपभोक्ताहरुले खाने मासु (भैँसी तथा राँगा) काट्ने स्थान फोहोर र अव्यवस्थित भएको अनुगमन समितिले निस्कर्ष निकालेका हुन् ।

‘हरेक वर्ष नीजि रुपमा संचालन भएका रागा भैंसी काट्ने ठाउँहरुमा सुधारका लागि सुझाव दिदै आएका थियौं’, जिल्ला स्तरीय बजार अनुगमन समितिका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भने— ‘पटक पटक सुधार गर्न भनेपनी ‘उहाँहरु सुध्रने भन्दा दिएको निर्देशन अटेर गरेर बसिरहेको देखियो ।’

स्वास्थ्यका मापदण्ड पालना नगरेको, जिउँदो पशुहरु बाँधेको स्थानमा काटिएको मासुका थुप्राहरु राखेको, रागा भैंसी काट्ने स्थान पनि फोहोर भएको, मासु निर्यात गर्दा खुल्ला छारोछुलोमै गरिएको फेला परेको उनले बताए ।

नगर स्तरीय अनुगमन समितिका संयोजक बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालले बजार स्वस्थ राख्न उत्पादित सामानहरु नै स्वस्थ बनाउनु पर्ने बताईन् । बनेपा नगरपालिका वडा नम्वर ९ मा रहेका रागा भैंसी काट्ने ठाउँ आवश्यक कानूनी प्रकृया पुरा गरी उपभोक्ताहरुको गुणस्तरमा ध्यान दिने गरी निर्देशन दिएको उनको भनाई छ ।

बद्यशालाका संचालक र माछा र मासु पसलका संचालकहरुलाई भेटेरिनरी अस्पतालमा आयोजित छलफल कार्यक्रममा कानूनी प्रकृया र सजायँ, मापदण्ड पालना तथा दण्ड जरिवनाका बारेमा जानकारी गराईएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताए । ब्यवसायीहरु मध्ये केहिलाई अनुगमनका क्रममा जरिवाना तोकिएको उनको भनाई छ ।

बनेपामा ७ वटा मासु पसल, माछा मासु पसल ३ वटा, राँगा तथा भैँसी काट्ने पसल ७ वटा, खाद्यान्न पसल ९ वटा, होटल ४ वटा, फेन्सि पसल १ वटा, तरकारी पसल २ वटा गरी ३३ वटा पसल अनुगमन गरिएको थियो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी तथा काभ्रे उद्योग बाणिज्य संघका दाधिकारीहरुको सहभागिता थियो ।

प्रतिक्रिया सबै