१० असार २०८१, आईतवार Sunday 23 June, 2024

फोनिजले भन्यो- प्रदेश १ को नाम ‘किराँत लिम्बुवान’

 बिहिबार, अशोज १३ २०७९  

काठमाडौं । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) प्रदेश १ को तेस्रो प्रादेशिक भेलाले १२ बुँदे ताप्लेजुङ घोषणापत्र जारी गरेको छ । ताप्लेजुङस्थित फुङ्लिङमा बुधबार सम्पन्न भेलाले पहिचान र अस्तित्वका मुद्दालाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्नेसहितका १२ बुँदे ताप्लेजुङ घोषणापत्र जारी गरेको हो ।

पहिचान र ऐतिहासिकताको आधारमा प्रदेश १ को नाम ‘किराँत लिम्बुवान’ नामाकरण गर्नुपर्ने, विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलमाथि हुँदै आएको अतिक्रमणको अन्त्य हुनुपर्ने, ताप्लेजुङको पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने लगायतका विषय जारी घोषणापत्रमा समावेश गरिएको छ ।

फोनिज संघीय समितिको तीन महिने संगठन सुदृढीकरण अभियानअन्तर्गत मंगलबार र बुधबार दुई दिन सञ्चालन भएको प्रादेशिक भेलामा फोनिज १ नम्बर प्रदेश समितिले गर्दै आएको साङ्गठनिक तथा आर्थिक गतिविधिबारे पनि छलफल भएको थियो । भेलाको बन्द सत्रमा प्रदेश समितिका अध्यक्ष सन्तबीर लामाद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम देवान याक्खाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

यस्तै, भेलामा प्रदेश १ का विभिन्न जिल्ला शाखाका अध्यक्षहरुले आ-आफ्नो प्रतिवेदन पेस गरेका थिए । प्रादेशिक भेलाको उद्घाटन मंगलबार प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले गरेका थिए ।

उद्घाटन समारोहमा जिल्लास्थित स्थानीय तहका पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो । उद्घाटनमा लिम्बू, गुरुङ (तमू), राई र शेर्पा समुदायका कलाकारले आफ्नो सांस्कृतिक प्रस्तुति प्रस्तुत पनि गरेका थिए ।

यस्तै, फोनिज संघीय समितिका अध्यक्ष गजुरधन राई, उपाध्यक्षद्वय अमरध्वोज लामा, कमन देवान, लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास) लगायतका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो । फोनिज प्रदेश १ को ऐतिहासिक प्रादेशिक भेलाको व्यवस्थापन भने फोनिज ताप्लेजुङ शाखाले गरेको थियो ।

प्रतिक्रिया सबै