३ असार २०८१, आईतवार Sunday 16 June, 2024

पत्रकार सइन्द्र राई सम्मानित

 शुक्रबार, अशोज १४ २०७९  

काठमाडौं । किरात राई पत्रकार संघले आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा पत्रकार सइन्द्र राईलाई सम्मान गरेको छ । किरात राई यायोख्खाको केन्द्रीय कार्यालय कोटेश्वरमा शुक्रबार आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा ‘किरात राई संघर्षशील पत्रकारिता पुरस्कार’बाट पत्रकार राईलाई किराती परम्पराअनुसार फेटा लगाएर सम्मानपत्र र अक्षकोषबाट नगद साढे १० हजारसहित सम्मान गरेको हो ।

पत्रकार राईलाई संघका अध्यक्ष अवतार राईसंगै प्रमुख अतिथि किरात राई यायोख्खाका महासचिव भीम राई लगायत अतिथिहरूले सम्मान गरे । संघले कृषिविज्ञ मदन राईद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष राई पत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ ।

डेढ दशदेखि पत्रकारिता गरिरहेका राई खोटाङमा जन्मिएर रुपाकोट सामुदायिक रेडियो, रेडियो नेपाल, हिमाल खबर पत्रिका, जनता टेलिभिजन हुँदै हाल अनलाइन खबरको राजनीतिक व्यूरो हेर्ने विशेष संवाददाताको रुपमा कार्यरत छन् ।

कार्यक्रमका विशेष अतिथि वरिष्ठ पत्रकार सन्जय सन्तोषी राईले शुभकामना दिँदै राईहरुको साझा समस्या, हक, अधिकारको विषयमा एकीकृत रुपमा कलम निरन्तर चलाउनुपर्ने बताए ।

यायोख्खाका महासचिव भीम राईले प्रदेश १ को नामकरण पहिचानको आधारमा गरिनुपर्ने दबाव दिइरहेको बताए । पत्रकारहरुले पनि दबाव दिन आग्रह गर्दै उनले समाज, समुदाय सशक्त बन्नका लागि पत्रकारहरुको उत्थान र सशक्तता महत्वपुर्ण आवश्यक हुने बताए ।

कार्यक्रममा किरात राई यायोक्खाको उपमहासचिव अर्जुन जम्नेली राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय सचिव बुद्धवीर बाहिङ, सदस्य प्रकाश चाम्लिङ, किरात राई लेखक संघको अध्यक्ष बलिराज खम्बू राई, किरात राई पत्रकार संघको पूर्ब महासचिव भद्रगोल किराती लगायतको उपस्थिति थियो ।

संघका अध्यक्ष अवतारले किरात राई पत्रकारको १५ औं स्थापना दिवस उपत्यकासहित ११ जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको जानकारी दिए । २०६४ साल असोज १४ गते स्थापना भएको यस संघले करिव १५ वटा जिल्लामा संगठन विस्तार गरिसकेको छ ।

यो पनि

वरिष्ठ पत्रकार गणेश राई सम्मानित

 

प्रतिक्रिया सबै