३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

दशैंमा ५५६ सवारी दुर्घटना, ५४ जनाको मृत्यु

 शुक्रबार, अशोज २१ २०७९  

काठमाडौं । दशैंमा बिहीबारसम्म देशभर ५५६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीकाअनुसार फूलपातीको दिन (१६ असोज)यता बितेका ५ दिनमा भएका सवारी दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ भने १ हजार ५७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार यो वर्ष गत वर्षको दशैंमाभन्दा बढी दुर्घटना भएको अनुमान गरेको छ । फूलपातीयताको ५ दिनमा दुर्घटनाको दर ह्वात्तै बढेको नेपाल प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए । यो तथ्यांकले यो वर्ष पनि दशैंको यात्रा सुरक्षित गराउने सरकारको प्रतिवद्धता पुरा नभएको देखाएको छ ।

प्रवक्ता राईले दशैंमा यात्रुको चाप उत्तिकै भएको र सडक र राजमार्गभरि खाल्डा र उबडखाबड रहेको र जीर्ण सडकमा यान्त्रिक परीक्षण नगरी तीव्र गतिमा दौडिरहेका सवारी राजमार्गमा दशैंको समयमा दुर्घटनामा परिरहेको बताए ।

बिहीबार मात्रै हेटौंडा-अमलेखगञ्ज खण्डको ३ नम्बर पुलनजिकै ब्रेक फेल भएको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । गत सोमबार मात्रै यही सडक खण्डको चुरीयामाई मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ३६ जना घाइते भएका थिए । दशैंकै बीचमा यो वर्ष पनि यस्ता अनेकन दुर्घटनाहरू भएका छन् छन् ।

दशैंमा दुर्घटना बढ्ने जोखिम भएरै सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने नियम बनाएर सूचना जारी गरे पनि उक्त सूचनाले दशैंको समयमा सम्भावित दुर्घटना टार्न सकेन ।

प्रहरी प्रवक्ता राईका अनुसार सडक र गाडीको अवस्था जीर्ण भइसक्दा पनि दौडाइरहने प्रवृत्तिका दुखद परिणाम यस्ता दुर्घटना हुन् । राजमार्ग र ग्रामीण क्षेत्रमा चल्ने यात्रु कोचेर धेरै सार्वजनिक सवारीको प्राविधिक अवस्थाले कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने खतरा रहेको प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया सबै