३ असार २०८१, आईतवार Sunday 16 June, 2024

खोटाङमा गठबन्धनबिरुद्ध कांग्रेसकै बागी उम्मेदवारी परेपछि एमाले उत्साहित

 मङ्लबार, अशोज २५ २०७९  

काठमाडौं । खोटाङमा गठबन्धनका उम्मेदवारविरुद्ध नेपाली कांग्रेसले नै बागी उम्मेदवारी खडा गरेको छ । गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै कांग्रेस नेताले नै आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा माओवादी केन्द्र, प्रदेशसभा (क) नेकपा (एकीकृत समाजवादी) र प्रदेशसभा (ख) कांग्रेसको भागमा परेपछि उनीहरु असन्तुष्ट थिए । पुर्वसांसद एबं पुर्व राज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा (क) मा पुर्वसभापति सुवासकुमार पोखरेल र उपसभापति धर्मराज पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुले गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई (पासाङ) र प्रदेशसभा ‘क’मा उठेका एकीकृत समाजवादी बीरबलकाजी राईविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

गठबन्धनबाट प्रदेशसभा ‘ख’मा उठेका नेपाली कांग्रेसका भूपेन्द्र राईविरुद्ध भने कसैले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छैनन् । तर, उनीहरुले आफ्नो स्वतन्त्र उम्मेदवारलाई सहयोग गरे मात्र गठबन्धनबाट प्रदेशसभा ‘ख’मा टिकट पाएका भूपेन्द्रलाई सहयोग गर्ने बुझिएको छ ।

कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले स्थानीय तहको मतपरिणामको आधारमा एक प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग सुनुवाई नभएकाले स्वतन्त्र उम्मेदवारी दिनु परेका बताए ।

गठवन्धन जोगाउने नाममा नेकपा एकीकृत समाजवादीलाई प्रदेशसभा (क) दिँदा गठबन्धन सुरक्षित नहुने र प्रतिगमन पनि रोक्न नसकिने असन्तुष्ट पक्षको भनाई छ ।

तर, प्रदेशसभा ‘क’मा कांग्रेसका असन्तुष्ट पक्षका दुई नेताले एकैक्षेत्रमा मनोनयन दर्ता गरेका छन् । आगामी २६ असोजसम्ममा दुई मध्ये एकलाई ‘व्याक’ गरिने सभापति राईको भनाई छ ।

गठबन्धन बिरुद्ध गठबन्धन दलकै स्वतन्त्र उम्मेदवारी परेपछि खोटाङमा नेकपा एमाले भने उत्साहित देखिन्छ । प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट बिशाल भट्टराई, प्रदेशसभा ‘क’बाट पाँचकर्ण राई (पिके) र प्रदेशसभा ‘ख’बाट रामप्रसाद दंगालको उम्मेदवारी दिएका छन् ।

कतिपय एमालेका नेताहरुले भने खोटाङमा गठबन्धनविरुद्ध नै बागी उम्मेदवारी परेपछि आफुहरुले जित निश्चित रहेको पनि बताउन थालेका छन् ।

प्रतिक्रिया सबै