९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

सुनसरीमा दल भर्सेस स्वतन्त्र: को-को छन् चुनावी मैदानमा ?

 मङ्लबार, अशोज २५ २०७९  

काठमाडौं । स्थानीय तहको निर्वाचनमा स्वतन्त्री उम्मेदवार धरानमा हर्क साम्पाङ र काठमाडौंमा बालेन शाहलाई जनताले विजयी गराएपछि आम निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार दिनेहरुको लहर चलेको छ ।

यस्तै सुनरी क्षेत्र नं १ मा यो पटकको निर्वाचन चासोका साथ हेरिएको छ । धरान उपमहानगरपालिकामा स्वतन्त्रले जितेपछि संघ र प्रदेशमा यो क्षेत्रमा जनताले स्वतन्त्र उम्मेदवारलाई जिताउलान् त भन्ने आम जनातको चासो छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सुनसरी-१ मा विभिन्न राजनीतिक दल र स्वतन्त्रहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य एकजना र प्रदेशसभा सदस्य २ जनाको लागि कुल ४९ जनाले मनोनयन दर्ता गरेका छन् । जसमा प्रतिनिसभा सदस्यको लागि कुल २० जना उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । ती मध्ये ११ जना मात्रै स्वतन्त्र उम्मेद्वार हुन् भने ९ जना राजनीतिक दलका उम्मेदवारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभामा दलका एमाले–जसपा गठबन्धनबाट जसपाका अशोक राई, लोकतान्त्रिक-बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मुक्साहाङ मेन्याङ्बो, राप्रपाबाट अशोक राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सरस्वती सुब्बा, किरात खम्बुवान साझा पार्टीबाट देवीबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ (सरिन), मंगोल नेशनल अर्गानाइजेशनबाट प्रेमबहादुर श्रेष्ठ, जनमत पार्टीबाट फत्तबहादुर खड्का र जनसमाजवादी पार्टीबाट मंगलसिंह लिम्बुले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेद्वारकोरुपमा तर्कबहादुर मगर, संजयकुमार राई, विजयकुमार राई, मनोजकुमार मेन्याङ्बो, मातृकाप्रसाद भट्टराई, जीवनकला राई, कुमार कार्की, कुलबहादुर लिम्बु, बासुप्रसाद खड्का, कृष्णकुमार राई र करुणा राईले मनोनयन दर्ता गराएका छन् ।

सुनसरी १ प्रदेशसभा ‘क’ मा कुल १५ जनाले उम्मेदेवारी मनोनयन दर्ता गराएका छन् । ती मध्ये ७ जना राजनीतिक दलबाट र ८ जना स्वतन्त्र उम्मेदवार रहेको आयोगले जनाएको छ ।

राजनीतिक दलहरुमा नेपाली कांग्रेसबाट उमेश थापा, नेकपा एमालेबाट रमेश बस्नेत, राप्रपाबाट उद्धव श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भोलामान वर्देवा, किराँत खम्बुवान साझा पार्टीबाट शुरेशकुमार राई र लौरो अभियानका हाम्रो नेपाल पार्टीबाट विजय कालिकोटेले मनोनयन दर्ता गरेका छन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा समिर तामाङ, पदमबहादुर कार्की, गोमा राई, खगेन्द्र श्रेष्ठ, सुमित्रा राई, टंकबहादुर विश्वकर्मा, माया विश्वकर्मा र पासाङ डोल्मा गुरुङले पनि मनोनयन दर्ता गराएका छन् ।

सुनसरी क्षेत्र १ प्रदेशसभा ‘ख’मा कुल १४ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन । तीमध्ये राजनीतिक दलबाट ६ जना छन् भने ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

दलबाट एमालेका विजयकुमार राई, नेकपा एसका रेवतीरमण राई, किरात खम्बुवान साझा पार्टीका भुपी राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेमबहादुर लिम्बु, नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी)बाट ओमप्रकाश थारु र राप्रपाबाट अनिश ढकालले मनोनयन दर्ता गरेका छन् ।

स्वतन्त्रबाट हेमचन्द्र राई, राजन बस्नेत, विन्द्रमान राई, कमलबहादुर कटवाल, शरण राई, मित्राकुमारी अधिकारी, रोहित सुब्बा र रिकेश विश्वकर्माले मनोनयन गराएका छन् ।

देशभर कतिले दिए उम्मेदवारी ?
आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर नै स्वतन्त्री उम्मेदवार परेको छ । निर्वाचन आयोगका अनुसार देशभर प्रतिनिधि सभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन् । जसमा १९३७ जना पुरूष र १९१ जना महिला छन् ।

प्रदेश सभातर्फ २६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

सात वटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा छन् । यस्तै सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन् ।

प्रदेश १मा ४९४, मधेस प्रदेशमा ७६७, बागमती प्रदेशमा ६३५, गण्‍डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ८१ र सुदूरपश्चिम प्रदेशमा २०३ जना उम्मेदवारहरू छन् ।

प्रतिक्रिया सबै