३ असार २०८१, आईतवार Sunday 16 June, 2024

शिल्पीले गरे जसपाको प्रदेश कार्यालयमा तालाबन्दी

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टीको १ नं प्रदेश कार्यालय, ईटहरी हलगडामा शिल्पीविशेषले तालाबन्दी गरेको छ ।

आगामी मंसिर ४ गते हुन गईरहेको संघ तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीले समानुपातिक तर्फको बन्दसूची पेश गर्दा दलित बनाईएका शिल्पी समूदायलाई उपेक्षा गरेको, पार्टीमा लामो समयदेखि त्याग, तपस्या र योगदान गरेका ब्यक्तिहरुको घोर अपमान गरेका कारण तालाबन्दी गर्न बाध्य भएको सो समितिका सचिव शशी विश्वकर्माले बताएका हुन् ।

शिल्पी/दलित विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश विश्वकर्मा र सचिव शशीकुमार विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । पार्टीमा नेताका आफन्तलगायत नेताका वरिपरि रहने, नेतालाई रिझाउने, आर्थिक सहयोग गर्ने व्यक्ति र आफन्त, नातागोतालाई बन्दसूचीमा समावेश गरि ईमान्दार, निष्ठावान र योग्य व्यक्तिहरुलाई पाखा लगाएर घोर अपमान गरेकोप्रति खेद व्यक्त गर्दछौँ ।

शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको बैठकले निर्णय गरि पठाएका नामावलीहरु हटाएर पार्टीमा काहीँ कतै नामै नसुनिएका, नजोडिएका, काम नगरेकाहरुलाई बन्दसूचीमा समावेश गरिनुले समानुपातिक पद्दतिकै उपहास भएको समेत हाम्रो ठहर रहेको छ ।

पार्टीको यस किसिमको कदमलाई पार्टीभित्रका शिल्पी/दलितहरुको आत्मासम्मान माथिको प्रहारका रुपमा विश्लेषण गरिएको छ । प्रदेश १ मा ३७ सिट समानुपातिक तर्फ हुँदाहुँदै र सिफारिश गरिएका योग्य ब्यक्तिहरु हुँदाहुँदै पनि ३३ सिटका लागि मात्र बन्दसूची पेश गर्नु पार्टीको अर्को अपराध भएको पुष्टि गदर्छौँ ।

तसर्थ पार्टीको यस प्रकारको कार्यप्रति घोर आपत्ति जनाउँदै तालाबन्दी गरिएको ब्यहोरा अवगत गराउँदछौँ साथै पार्टीले यो कदम नसच्याए, माफी नमागे र लिखित रुपमा सहमति नगरेसम्म तालाबन्दी नखोल्ने र पार्टीको निर्वाचन गतिविधिलाई प्रभावित पार्ने गरि अरु थप संघर्षका कार्यक्रमहरु अगाढी बढाउने चेतावनी समेत दिईएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया सबै