९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

प्रहरी हौं भन्दै अपहरण गरेर लुटपाट गर्ने ३ जना जेल चलान

 बुधबार, अशोज २६ २०७९  

काठमाडौं । प्रहरी भन्दै एक युवकलाई अपहरण गरेको आरोपमा पक्राउ परेका तीन जना जेल चलान भएका छन् ।

जेल चलान हुनेहरुमा रामेछापको सुनापति गाउँपालिका-१ तितुङटोलका २० वर्षीय रोहित भनिने मिनबहादुर तितुङ, सिन्धुलीको मरिण गाउँपालिका-३ का ३० वर्षीय देवराज वाइवा, र भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ का २९ वर्षीय योगेन्द्र तामाङ छन् ।

अपहरण तथा डाँका कसुरमा पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

अदालतको आदेशपश्चात उनीहरुलाई डिल्लीबजार कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

गत साउन २२ गते राति ८ बजेतिर काठमाडौं-२६ म्हेपी पानीट्यांकीस्थित भित्री सडकमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका एक युवालाई उनीहरुले अपहरण गरेका थिए । हनुमानढोकाबाट आएको प्रहरी हौं भन्दै मोटरसाइकलमा राखेर यो समूहले अपहरण गरेको थियो ।

अपहरण गरेर डल्लुस्थित बिष्णुमति खोला किनारमा पुर्‍याएर उनको साथमा रहेको ३० लाख २३ हजार २०८ रुपैयाँ लुटपाट गरेका थिए । घटनाको केही समयपछि यो गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।

प्रतिक्रिया सबै