३ असार २०८१, आईतवार Sunday 16 June, 2024

गृहमन्त्री खाँणसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

 बिहिबार, अशोज २७ २०७९  

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग चिनियाँ राजदूत होउ यान्छीले बिहीबार गृह मन्त्रालयमा शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

भेटमा नेपाल-चीनबीचको आपसी सम्बन्ध, सहयोग आदानप्रदानलगायत विषयमा कुराकानी भएको मन्त्रालयको सचिवालयले जनाएको छ ।

गृहमन्त्री खाँणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए । ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाँणले भने, ‘नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ । छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ ।’

उनले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताए । त्यस्तै गृहमन्त्री खाँणले राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुलगायत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल-चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताए ।

राजदूत यान्छीले नेपालको विकास र प्रगतिका लागि चीनले सदैव सद्भाव र सहयोगका साथै शुभकामना व्यक्त गरिरहेको बताइन् । पर्यटन विकासका लागि नेपाल भ्रमणमा आउने वातावरण चिनियाँ सरकारले मिलाउने र आफूले व्यक्तिगत रूपमा नेपालको भौगालिक, सामाजिक र सांस्कृतिक विविधता तथा नेपालीको पर्यटक र पाहुनाप्रतिको सद्भावबारे आफ्ना चिनियाँ साथी र जनतासम्म विचार राख्ने यान्छीले बताइन् ।

प्रतिक्रिया सबै