१० असार २०८१, आईतवार Sunday 23 June, 2024

केपी ओली षड्यन्त्रकारी, निरंकुश र स्वेच्छाचारी : भीम रावल

 बिहिबार, अशोज २७ २०७९  

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली निरंकुश र स्वेच्छाचारी भएको आरोप लगाएका छन् । अछाम क्षेत्र नम्बर १ मा स्थानीय कमिटीले सिफारिस गर्दा पनि आफूलाई टिकट नदिएको विषयमा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले ओली षडयन्त्रकारी रहेको बताएका छन् ।

‘केपी ओलीले गरेको निर्णय निरंकुश र स्वेच्छाचारी । षड्यन्त्रपूर्ण र स्वेच्छाचारी निर्णय गरेर केपी ओलीले मलाई रोक्न खोजे । घरमा आएका नेताहरुलाई पनि मैले चुनाव लड्न तयार रहेको बताएको थिएँ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेलामा मन्तव्य दिएको थिएँ । पार्टी कार्यक्रममा संलग्न भएकै बेला म सम्पर्कविहीन भनियो। अन्तिममा टिकट पनि रोकियो’, उनले भने ।

अछामबाट टिकट सिफारिस भएपछि पार्टी अध्यक्ष ओलीको घरमा भीम रावलको नाम किन एकल सिफारिस गरेको भनेर छलफल भएको उनको भनाई छ ।

ओलीले आफुलाई रोक्न अनेक षड्यन्त्र गरेको उनले बताए । ‘अछाम क्षेत्र नम्बर २ का उम्मेदवारबारे छलफल गरिएन तर मेरोबारे पटक पटक गुटमा छलफल भयो । पार्टीमा गुटगत बैठक गरी मलाई रोक्न षड्यन्त्र रोकियो । मलाई उम्मेदवारी नदिने भन्ने कुरा मैले थाहा पाएँ । अध्यक्ष ओलीनिकट मान्छेहरुबाट मलाई हराउन नसकिने निष्कर्ष पाएपछि मलाई टिकटमै रोकियो’, उनले भने ।

आफूलाई टिकट नदिएर रोक्नु कार्यकर्ताका भावना कुल्चने षड्यन्त्रपूर्ण कदम भएको उनको भनाई छ । उनले भनेका छन्- ‘देश र जनाताको हित स्वाधिनता स्वाभिमान न्याय र सुशासनको पक्षमा मैले उठाएको आवाजको साथ दिनेलाई धन्यवाद ।’

नेकपा एमाले निश्चित सिद्धान्त र विधिका आधारमा चल्दै आएको भन्दै उनले भने- ‘यही आधारमा उम्मेदवार छनोट गर्नुपर्ने हो। युनिफिकेसन चर्चसँग जोडिएका एकनाथ ढकाललाई टिकट दिने तर राष्ट्रियतको पक्षमा बोल्ने हामीलाई नदिने । संविधान दिवसलाई कालो दिवस भन्नेसँग तालमेल गरियो ।’

नेता रावलले एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताए । उनले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताए ।

एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई पनि समर्थन गरेको भन्दै रावलले उनीहरुका लागि मत माग्न नसक्ने बताए ।

रावलले देशभक्त, मार्क्सवादसँग प्रतिवद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र सहयोग गर्ने बताए ।

यस्तै नेता रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।

पूर्णपाठ


भिडियो

प्रतिक्रिया सबै