९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि

 आइतवार, अशोज ३० २०७९  

काठमाडौं । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर चिकित्सा शिक्षा अध्ययनका लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई प्रदान गरिने भएको छ ।

जोशीको इच्छा अनुसार नै उनको पार्थिव शरीर अस्पताललाई दिइने मेयर चिरिबाबु महर्जनले जानकारी दिए । जोशीको शरीरलाई साढे ११ बजे देखि १२ बजेसम्म अस्पताल प्रांगणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने मेयर महर्जनको भनाई छ ।

उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो । अस्पतालबाट आवश्यक प्रक्रिया पूरा गरी दिउँसो १२ः३० बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर राखिने प्रमुख महर्जनले बताए ।

परिवारले अस्पतालको शय्यामा नै श्रद्धाञ्जली प्रकट गरेर हिन्दु संस्कारका केही विधि प्रक्रिया पूरा गरेपछि उनको पार्थिव शरिर आम मानिसका लागि श्रद्धाञ्जली दिनका लागि राखिने छ ।

यस्तै, १२ बजे उनको शरीरलाई ललितपुर महानगरपालिकामा लगिने र त्यहाँ ४ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका अन्य विशिष्ठ व्यक्ति सहभागी हुनेछन् । उनको शरीर अन्तिममा आइतबार नै अस्पताललाई हस्तान्तरण गरिने मेयर महर्जनले बताए ।

प्रतिक्रिया सबै