९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

‘दुई नम्बरी’ : बक्स अफिसमा उत्कृष्ट कमाई, नयाँ भर्सनसहित पुनः हलमा

 बुधबार, कार्तिक २ २०७९  

काठमाडौं । लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल स्टारर कमेडी तथा सोसल ड्रामा चलचित्र ‘दुई नम्बरी’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ ।

प्रदर्शनको १२ दिनसम्म फिल्मले देशव्यापी ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको हो । यस फिल्मले पहिलो साता नै साढे चार करोड रुपैयाँ कमाएको थियो ।

प्रस्तुतकर्ता किरण नेपालीले १२ दिनसम्मको कमाइलाई लिएर खुसी व्यक्त गरेका छन् । २०७९ सालको अर्धवार्षिक कमाई हेर्दा ‘कबड्डी ४’पछि प्रेमगीत ३, झिंगेदाउ र दुई नम्बरीले मात्र आफूलाई बक्स अफिसमा हिट तुल्याउन सकेका छन् ।

यस्तै, दर्शकले बुधबारदेखि दुई नम्बरीमा केही नयाँ ध्वनि र दृश्य देख्न सक्नेछन् । निर्माताले ध्वनि र दृश्यमा केही काँटछाँट गर्दै बुधबारदेखि ‘दुई नम्बरी’लाई हलमा पठाएका छन् । प्रस्तुतकर्ता नेपालीका अनुसार आठ मिनेट लामो दृश्यलाई पुनः सम्पादन गरिएको हो ।

उनले सम्पादनपछिको फिल्मले अझै स्पष्ट रुपमा कथा भन्ने बताए । दर्शकलाई अझै मन पर्न सक्ने उनको भनाई छ । फिल्मको लम्बाइ २ घण्टा ७ मिनेटबाट घटेर २ घण्टा २ मिनेटमा सीमित भएको छ ।

यस फिल्मका मुख्य कलाकारहरु दयाहाङ, सौगात, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ चित्रित छन् । दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ ।

गाउँको परिवेशमा बुनिएको कथामा दयाहाङ र सौगात मिल्ने साथीको रुपमा फिचर्ड छन् । ‘ब्लकबस्टर’ कबड्डी ४ पछि यी दुईको सहकार्यमा यसमा देख्न पाइनेछ छ ।

‘घामपानी’ र ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामा निर्देशित यस फिल्म भुटानी अभिनेत्री उगेन छोदेनको डेब्यु फिल्म समेत हो ।

निर्देशक लामाले यस फिल्मले अहिले दर्शकको राम्रो माया पाएको बताएका छन् । उनले यो न्यानोपन अझै गाढा हुने अपेक्षा गरेका छन् ।

 

प्रतिक्रिया सबै