६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

माओवादी कमजोर हुँदा प्राप्त उपलब्धि उल्टन सक्छ : प्रचण्ड

 बुधबार, कार्तिक २ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धिहरू उल्टने खतरा रहेको बताएका छन् ।

बुधबार प्रेस सेन्टर ललितपुरसँग छलफलका क्रममा प्रचण्डले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अरूबेला हुनेजस्तो सामान्य चुनाव नभएको बताए ।

मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ भएको उनको भनाई छ । ‘हाम्रा लागि मंसिर ४ को निर्वाचन सामान्य चुनाव मात्र होईन । जीवन मरणको संघर्षका रूपमा चुनाव छ’, उनले भने ।

उपलब्धि रक्षा गर्ने र उपलब्धि उल्टाउन खोज्ने बीचको लडाइँका रूपमा यो निर्वाचनलाई लिनुपर्ने उनले बताए । अग्रगमन र प्रतिगमनबीचको लडाइँ मंसिर ४ को चुनाव भएको पनि उनले बताए ।

‘परिवर्तन रक्षा गर्न चाहने र उल्टाउन चाहनेबीच आमनेसामने हुने दिन मंसिर ४ हो, चुनाव हो । यो चुनावलाई कसले जित्छन्, कसले हार्छन् भनेर छुट पाउने अवस्था छैन । आफ्नो ठाउँबाट अधिकतम जनमत निर्माण गर्नुपर्छ’, उनले केही शक्तिहरू माओवादी एजेन्डा, आन्दोलन र नेतृत्वबारे घेराबन्दीमा लागेको पनि बताए । ‘हामी माओवादी बलियो हुँदा परिवर्तन रक्षा हुन्छ । कमजोर भए सबै चिज उल्टने खतरा छ,’ प्रचण्डले भने ।

प्रतिक्रिया सबै