३ असार २०८१, आईतवार Sunday 16 June, 2024

बालेनलाई ठेला खोसिएकी शर्मिलाको प्रश्न : के हामी यो देशका नागरिक होइनौं र ?

 बिहिबार, कार्तिक ३ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा केही दिनअघि थापाथलीबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प नै एक मात्र बाँच्ने आधार नै खोसेर महानगरले अमानवीय व्यवहार गरेको बताएकी छन् ।

संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै शर्मिलाले प्रश्न गरिन् – ‘के हामी यो देशका नागरिक होइनौं र ? सरकारले आफै रोजगारीको व्यवस्था गर्नु पर्ने ठाउँमा उल्टै उठीबास लगाउने ?’ आफूले रोई कराई गर्दा पनि महानगरले मेयर शाहको आदेश भन्दै आफ्नो ठेला लिएर गएको उनले बताईन् ।

थापाथलीस्थित प्रसूति गृहको नजिकै शर्मिलाले ठेलामा समान बेचेर गुजारा चलाउँदै आएकी थिइन् । त्यस्तै, हेटौंडा स्थायी घर भएकी बनेपामा गाडामा जुत्ता चप्पल बेच्ने विमला चौलागाईंले सरकारले गरिबको बिहान बेलुका छाक टार्ने आधार पनि चुडेर लगेको बताईन् । अर्की पीडित रामेछाप मन्थली घार भएकी सुनिता कार्कीले आफ्नो गाडामा भएको चटपटे व्यापार नै रोकेपछि बालबच्चा र परिवार कसरी पाल्ने अनि नागरिकको अविभावक राज्य नै भक्षक निस्केपछि कसलाई भन्ने भन्दै भावुक भईन् ।

नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले विना विकल्प रोजीरोटी खोस्ने कार्य बन्द नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद थापाले मेयर बालेन्द्र शाहले गरिब तथा स्वरोजगार नागरिकलाई अमानवीय व्यवहार गरेको भन्दै उनीविरुद्ध छिट्टै सडकमा उत्रने उद्घोष समेत गरे । उनले फुटपाथका मजदुर किसान भूमिहीन सुकुम्वासीहरूलाई कुनैपनि विकल्प बिना नै रोजगारीको आधारबाट हटाइरहेको र त्यी प्रवृत्ति देशभर चलेकोप्रति आफ्नो संगठन आक्रोशित भएको बताए ।

प्रतिक्रिया सबै