६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

सन्दीविरुद्धको अनुसन्धान सकियो, १२ बर्ष कैद सजाय माग

 सोमवार, कार्तिक ७ २०७९  

काठमाडौं । एक नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रहरी वृत्त गौशालाले अनुसन्धान सकाएर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।

नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग समेत गरिएको छ ।

होटेलको सीसीटीभी फुटेजमा सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र बाहिरिएको देखिएका छन् । पीडित किशोरी भने अहिले माइती नेपालको संरक्षणमा छन् ।

केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न सन्दीप जमैका गएकै बेला उनीविरुद्ध जाहेरी परेको थियो । जाहेरी परेको एक महिनापछि नेपाल फर्किएका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

सन्दीपले भने आफू होटेलमा सँगै बसेको स्वीकार गरेका छन् । तर, यौनजन्य कार्य नगरेको जिकिर गरेका छन् ।

सन्दीपले प्रयोग गरेको सामाजिक सञ्जालका च्याटहरू पनि ‘रिकभर’ गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाई छ । प्रहरीले बलियो रूपमा प्रमाण जुटाएको बताएको छ ।

सन्दीप र उनका कानुन व्यवसायीले पीडित बालिग भएको दाबी गरेका छन् । प्रहरीले पनि पीडितका दुई जन्मदर्ता फेलापारेको छ ।

एक जन्मदर्तामा उनी बालिग छन् भने अर्कोमा नाबालिग । तर, प्रहरीले उनको नागरिकतामा उल्लेख उमेरलाई आधार मानेको छ । नागरिकताअनुसार पीडितको उमेर अहिले १७ वर्ष छ ।

 

प्रतिक्रिया सबै