५ असार २०८१, मंगलवार Tuesday 18 June, 2024

एमाले गठबन्धन परिवर्तनविरोधी हो : प्रचण्ड

 सोमवार, कार्तिक ७ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले गठबन्धन परिवर्तनविरोधी भएको बताएका छन् । सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले सानो मेहनत र सानो कसरतबाट आफूहरु एकजुट नभएको बताए ।

आगामी निर्वाचन अग्रगमन र प्रतिगनबीचको संघर्ष भएको भन्दै उनले ओलीको असंवैधानिक कदमविरुद्ध गठबन्धन बनेको दोहोर्‍याए । ‘हामीहरु एकजुट नभएको भए देश दुर्घटनामा जाने निश्चित थियो । त्यसैले हामी प्रतिगमनलाई परास्त गर्न एकजुट भएका हौं । मंसिर ४ को निर्वाचनलाई सामान्य रुपमा नलिनुहोला । अहिले दुई प्रवृत्तिका शक्तिबीच राजनीतिक मुठभेड हुँदैछ’, उनले भने ।

‘नेपालमा संविधानसभा सम्भव छैन । राजतन्त्र फाल्न सम्भव छैन भन्ने नेताहरु थिए । तर, त्यतिवेलाका सात राजनीतिक दल र माओवादीबीच संघीय लोकतान्त्रिक गणतन्त्रका लागि एक हुनुपर्छ भन्नेर हामी संविधानसभासम्म पुग्यौं । हिजोको गोरुगाढावाला सिद्धान्तका मान्छेले संविधानमा हस्ताक्षर गरेपछि संघीयता र परिवर्तनवादी भए भनेर सोचेका थियौं । हामीले वाम गठबन्धन गरेपछि मात्रै थाहा भयो । संविधान स्वीकारेका रहेनछन् । आफू पावरमा आएपछि संविधान र गणतन्त्र उल्टाउने कसरत गरे’, उनले भने ।

यस्तै, प्रचण्डले विगतका विरोधी शक्तिबीच मेलमिलाप हुँदा नै राष्ट्रलाई फाइदा हुने बताएका छन् । सशस्त्र द्वन्द्वका क्रममा माओवादी र नेपाली कांग्रेसबीच नै मुख्य लडाई भएको भन्दै प्रचण्डले अहिले ती शक्ति मिल्दा देशको हित हुने बताए ।

‘मिल्ने भनेकै दुईवटा लड्नेहरुका बीचमा हो, अनिमात्र मिल्नुको अर्थ र मजा हुन्छ । देश र समाजका लागि पनि केही हुन्छ’, प्रचडले भने- ‘नलड्नेहरुबीच त मिल्नै परेन नि, किन सम्झौता गर्नुपर्यो । सम्झौता गर्ने भनेकै विरोधीहरुका बीचमा लड्दालड्दै हो । सम्झौता फेरि कसैको इच्छाले होइन, तत्कालिन शक्ति सन्तुलनले पैदा गर्ने हो ।’

तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दल यो भन्दा अगाडि लड्नु राष्ट्रको निम्ति अहित हुन्छ भन्ने निश्कर्षमा पुगेपछि नै शान्ति सम्झौता भएको प्रचण्डको भनाई छ ।

प्रतिक्रिया सबै