१० असार २०८१, आईतवार Sunday 23 June, 2024

विशाल भट्टराईले खोटाङ्गे जनतालाई झुक्याउने काम गरिरहेको छ : नेता पासाङ

 आइतवार, कार्तिक १३ २०७९  

खोटाङ । प्रतिनिधिसभाका उम्मेदवार तथा प्रदेश १ का सिंचाइ खानेपानी मन्त्री रामकुमार राई ‘पासाङ’ले नेकपा एमालेका नेता विशाल भट्टराईले खोटाङ्गे जनतालाई झुक्याउने काम गरिरहेको आरोप लगाएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा आयोजना भएको लोकतान्त्रिक गठबन्धनको संयुक्त बैठकलाई संवोधन गर्दै नेता राईले भट्टराईप्रति लक्षित गर्दै ‘मन्त्री बन्दैछु’ भनेर अहिले फेरी भोट माग्ने, जनतालाई फसाउने र झुक्क्याउने काम भइरहेको बताएका हुन् ।

‘अहिले वहाँको नारा रहेछ । चुनाव जिताउनु भयो भने मन्त्री कम्फर्म बन्दैछु । पटक-पटक चुनाव जितेर जाँदा दौरा सुरुवाल तयार गरेर मात्र बस्ने अनि मन्त्री हुन्छु भनेर अहिले फेरी घोषणा गरेर भोट माग्ने ! जनतालाई फेरि फसाउने र झुक्क्याउने काम भइरहेको छ’, नेता राईले भने- ‘फेरी पनि यस्तो खालको जनप्रतिनिधि हामीले पक्कै पनि मन पराउँछौ जस्तो लाग्दैन् । अहिले जिल्लामा २० वटा पुलहरु मैले बनाएँ भन्दै हिँडेका छन् रे ? लाज पनि नभएको, जसको सरकार नै बन्दैन !’

देशलाई विकास र समृद्धितिर लैजानका लागि भनेर हामीले भोट माग्यौं । नेपाली जनताले भोट पनि दिनुभयो । यो देशमा दुई तिहाँइ नजिकको सरकार, सातै वटामध्ये ६ वटा प्रदेशमा सरकार पनि तत्कालिन नेकपाको बनेकै हो । तर, तत्कालिन प्रधानमन्त्री केपी ओली तानाशाही बने । पटक-पटक संसद विघटन गरे’, उनले भने- ‘प्रतिगमनकारी कदम चाले । त्यसकारण हामी आज अग्रगामी शक्तिहरु एक भएका हौँ । फेरी पनि लोकतन्त्र, गणतन्त्रमाथि आक्रमण हुन सक्छ । तपाईं हाम्रो अधिकार खोसिन सक्छ । त्यसमा तपाईं हामी सचेत बन्नै पर्छ ।’

खोटाङको विकास गर्नेमात्र सपना देखेको उनले बताए । आफूलाई मोजमस्ती, घर सम्पति, सुविधा नचाहिने भएकोले जिल्लाको विकास कसरी गर्ने भन्नेमात्र सपना रहेको उनको भनाई छ । ‘म अहिले पनि मन्त्री छु, तर, रामकुमार राईले यहाँ खायो रे उता खायो रे, यता घर किन्यो रे उता खेत किन्यो रे सुन्नुभएको छ । म मन्त्री बनेदेखि जिल्लामा खानेपानी र सिंचाइका क्षेत्रमा कति काम भए बुझनुस्त’ उनले भने ।

‘खानेपानी र सिंचाइका क्षेत्रमा धेरै काम भए, मैले काम गरेपनि प्रचार नगरेको हो, आखिर जनताले थाहा पाइहाल्नु भएको छ। किन प्रचार गर्नुपर्यो, तर, यहाँ त १० वर्षसम्म पटक पटक चुनाव जितेर गएका एकजना माननीयले हुँदा–हुँदा पुलमा पनि राजनीति गर्न थाल्नुभाछ’, उनले भने- ‘खोटाङको विकासका लागि म लाग्छु, विगतमा पनि म लागि नै रहेको छु । तपाईंकोहरुको शिर झुक्ने काम गर्ने छैन । विगतमा पनि गरेको छैन, र आगामी दिनमा पनि गर्नेछैन्। बोलेको काम गर्ने हो। धेरै ठाउँ सोध्दा हुन्छ रामकुमार राईले जे बोल्छ त्यो गर्छ । नहुने काम र गर्न नसक्ने कुरा बोल्दैन् । तपाईहरुको भोट खेर जान दिने छैन ।’

०७४ सालको निर्वाचनमा नेता राई र भट्टराई सहयात्री थिए । गठबन्धनबाट भट्टराईले प्रतिनिधिसभा सदस्य र राईले खोटाङ ‘ख’बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर दुवैले जितेका थिए । यो पटक भने दुवै जना एक-अर्काका प्रतिस्पर्धी भएका छन् ।

दुई पटक खोटाङबाट निर्वाचन जितेका एमालेका नेता भट्टराई दुई पटक नै पराजित ब्यहोरी सकेका छन् । ०५६ सालमा पहिलो पटक निर्वाचन लडेका भट्टराई त्यसबेला कांग्रेसका नेता शिवकुमार बस्नेतसँग पराजित भएका थिए । त्यस्तै, ०६४ मा माओवादी नेता समिता कार्कीसँग पराजित भए । ०७० को निर्वाचनमा पहिलो पटक निर्वाचन जितेका थिए ।

माओवादी केन्द्रीय सदस्य समेत रहेका पासाङ ०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीबाट खोटाङ क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । ०७४ सालको निर्वाचनमा उनी खोटाङ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी प्रदेश १ का खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री छन् ।

यो पनि

किरात प्रदेश विरोधीलाई ‘नो भोट’ अभियान

प्रतिक्रिया सबै