१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

एमाले उम्मेदवार वलीको चुनावी प्रचारमा विद्यार्थी

 शुक्रबार, कार्तिक १८ २०७९  

दाङ । एमाले उम्मेदवार कोमल वलीले विद्यार्थीलाई राखेर चुनावी भेला गरेकी छन् । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी वलीले निर्वाचन आचारसंहिता विपरीत स्कुलका विद्यार्थीलाई राखेर गरेका हुन् ।

चुनावी भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । एमालेका उम्मेदवार वलीसहित दाङ ३ ‘ख’ का उम्मेदवार हुकुम बस्नेतले आफ्नो चुनावी अभियानका क्रममा केहीदिन अघि दाङको एक विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकहरुलाई राखेर भेला गरेका थिए ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त तस्वीर दाङको बबई गाउँपालिका- १ गँगटेस्थित सरस्वती जनता माविको हो । तस्वीरमा उम्मेदवार वलीले स्कुलका विद्यार्थीलाई राखेर भेला गरेकी छन् । विद्यार्थीले हातमा चुनावी प्रचारका सामग्री समाएको तस्विर भाइरल भएको छ ।

श्रोतका अनुसार उम्मेदवार वली र बस्नेतले विद्यार्थीलाई चुनावी प्रचार सामाग्रीसमेत बाँडेका थिए । सुरुमा विद्यार्थीसँगको उत्त फोटो कोमल वलीको सचिवालयले नै फेसबुकमा सार्वजनिक गरेपनि केहि समयपछि उत्त फोटो हटाएको थियो ।

यसबारे बुझ्न खोज्दा विद्यालयका प्रधानाध्यापक नरेन्द्र साहुले उक्त तस्विर कार्तिक १५ गतेको भएको बताए । उनले सामाजिक सञ्जालमा भाइरल भएको तस्विर चुनावी भेला नभएको बताएका छन् ।

निर्वाचन आचारसंहिताले भने चुनावी भेला र प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गर्न रोक लगाएको छ । चुनावको प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा वलीको आलोचना भइरहेको छ ।

प्रतिक्रिया सबै