३० असार २०८१, शनिबार Saturday 13 July, 2024

मेस्सीलाई चोट !

 आइतवार, कार्तिक २० २०७९  

काठमाडौं । अर्जेन्टिनाका कप्तानसमेत रहेका स्टार लियोनल मेस्सी घाइते भएका छन् । विश्वकप फुटबल सुरु हुन दुई साता मात्रै बाँकी हुँदा अर्जेन्टिनाका स्टार लियोनल मेस्सी घाइते भएका हुन् ।

पेरिस सेन्ट जर्मनले घाइते भएका कारण लिग १ का खेल गुमाउने निश्चित गरेको हो । आइतबार हुने लिग १ को खेलमा लोरियन्टविरुद्ध मेस्सी उपलब्ध नहुने भएका छन् । तर उनी विश्वकपका लागि भने फिट हुने अपेक्षा गरिएको छ ।

प्रशिक्षणका क्रममा मेस्सीको गोलिगाँठामा चोट लागेको छ । चोट सामान्य नै रहेको र विश्वकपअघि नै ठिक भइसक्ने मेडिकल टिमले जानकारी गराएको छ । पीएसजीले विश्वकप अघि अर्को खेल अक्जेरसँग खेल्दै छ । विश्वकपअघि दुवै खेल गुमाउने सम्भावना छ ।

३५ वर्षीय मेस्सी नेतृत्वको टिमलाई कतार विश्वकपको बलियो दाबेदार मानिएको छ । व्यक्तिगत तथ्यांकमा अब्बल मेस्सीले अहिलेसम्म विश्वकप भने जित्न सकेका छैनन् । उनको नेतृत्वमा अर्जेन्टिनाले २०२१ मा कोपा अमेरिका जितेको थियो । अहिलेसम्म देशका लागि जितेको यो नै प्रमुख उपाधि हो ।

कतार विश्वकपमा अर्जेन्टिना समूहमा सी मा छ । यो समूहमा साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन् । विश्वकप मंसिर ४ गते सुरु हुँदै छ । मंसिर ६ गते अर्जेन्टिनाले पहिलो खेल साउदी अरेबियासँग खेल्दै छ ।

प्रतिक्रिया सबै