८ असार २०८१, शुक्रबार Friday 21 June, 2024

विश्वकप हेर्न कतार जानेहरुले जान्नैपर्ने कुरा

 आइतवार, कार्तिक २० २०७९  

काठमाडौं । कतार विश्वकप २०२२ नजिकिएको छ । विश्वकपको मिति नजिकिँदै गर्दा कतारले नोभेम्बर १ देखि नै दर्शकलाई स्वागत गर्न सुरु गरिसकेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफू मातहतका जिल्ला संघ, प्रदेश संघ, ए, बी र सी डिभिजन क्लब, रेफ्री संघ, महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ, मोफसलका चारवटै फुटबल क्लबका प्रतिनिधिलाई विश्वकपका लागि टिकट बिक्री गर्ने भएको छ ।

एन्फाले खेलअनुसार टिकटको मूल्य निर्धारण गरेको हो । एन्फाले उद्घाटन खेलका लागि ८४ हजार ८ सय, समूह चरणका खेलका लागि ३० हजार १५० रुपैयाँ तोकेको छ ।

प्रिक्वार्टरफाइनलका लागि ३७ हजार ६९०, क्वार्टफाइनलका लागि ५८ हजार ४१६ र सेमिफाइनल खेलका लागि १ लाख ३१ हजार १५५ रुपैयाँ टिकट मूल्य तोकेको छ ।

फाइनलका लागि १० वटा टिकट आएकोमा सबै बिक्री भइसकेको एन्फाले जनाएको छ । फाइनल खेलको टिकट मूल्य १ लाख ९८ हजार ९२४ रुपैयाँ परेको छ । टिकटबाहेक जाने आउने र अन्य खर्च पनि स्वयंले नै व्यहोर्नुपर्ने एन्फाले जनाएको छ ।

विश्वकपकै लागि भनेर नेपालबाट कति दर्शक कतार जाँदैछन् भन्ने यकिन तथ्यांक छैन । विश्वकपलाई लक्षित गर्दै कतार पुग्ने दर्शकको सुविधा र उनीहरुको बसाइ लम्ब्याउन कतारले कुनै कसर बाँकी राखेको छैन । विश्वकप लक्षित गरेर नै कतारले डिपार्टमेन्ट स्टोरलाई राति २ बजेसम्म खुला राख्न निर्देशन दिएको छ ।

विश्वकपलाई लक्षित गर्दै भिजिट भिषामा कतार पुगेका पर्यटक लक्षित गरी फ्यान भिसामा परिवर्तन गर्न पाउने सुविधा पनि कतारले दिएको छ । नोभेम्बर १ अघि कतार जुनसुकै प्रकारको भिजिट भिषामा कतार पुगेका र हाया कार्ड भएका व्यक्तिले राहदानी निर्देशनालय केन्द्र तथा आन्तरिक मन्त्रालयको सेवा विभागमा गएर भिजिट भिसालाई फ्यान भिसा सक्ने सुविधा दिएको छ । यो भिसा परिवर्तन गरेपछि जनवरी २३,२०२३ सम्म कतारमा बस्न पाईनेछ ।

विश्वकपका लागि कतार प्रवेशका लागि हाया कार्डलाई अनिवार्य बनाएको छ । यो कार्ड बनाउन ५ सय रियाल शुल्य लाग्नेछ ।

आन्तरिक मन्त्रालयका अनुसार कतारले विश्वकपलाई लक्षित गरेर लागू गरेको नियम अनुसार हाया इन्ट्री परमिट मात्र आवश्यक पर्नेछ । अब विश्वकप हेर्न कतार जाँदा कोरोना परीक्षण गराउनु पर्दैन । त्यस्तै एहतेराज एपमा पहिला नै दर्ता गरेको, अनिवार्य मास्कको नियम, भ्याक्सिनको प्रमाणपत्रलगायतको नियम खारेज गरिसकेको छ ।

खेलसँगै पर्यटनलाई पनि लक्षित गर्दै कतारले विश्वकप खेलको टिकट खरिद नगरेका व्यक्ति पनि कतार घुम्न जान पाउने सुविधा दिएको छ । त्यसको लागि समूह चरणको खेल सकिएपछि मात्र अर्थात डिसेम्बर २ देखि कतार जान पाउनेछन् ।

एप वा पोर्टल मार्फत हाया कार्डको लागि आवेदन दिनुपर्नेछ । यो कार्ड भएका व्यक्ति जनवरी २३ सम्म कतारमा बस्न पाउनेछन् । कार्ड स्वीकृत हुन यात्रुले होटेल बुकिङ वा आफन्तसँगै बस्ने व्यवस्थाको प्रमाण भने पेश गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया सबै