८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

विप्लव नेकपासहित तीन पार्टीद्वारा निर्वाचन बहिष्कार आन्दोलनको घोषणा

 आइतवार, कार्तिक २० २०७९  

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।

आईतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै तीन वटा साना वामपन्थी राजनीतिक दलहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन् । नेकपाका नेता प्रकाण्डले कात्तिक २६ गतेदेखि ३० गतेसम्म देशव्यापी रुपमा विरोध प्रर्दशन र कोणसभा समेत आयोजना गर्न लागिएको बताए ।

नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपालमा संसदवादको अन्त्य गर्नका लागि आफूहरुले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताएका छन् । नेपाली क्रान्तिलाई सफल बनाउन पनि सो चुनाव बहिष्कारको कार्यक्रमले सहयोग पुर्याउने उनको भनाई छ । वैज्ञानिक समाजवादी पार्टी, नेपालले ‘चुनावको नौटंकी देशको हितमा नरहेकाले त्यसको बहिष्कार गर्ने कार्यक्रम घोषणा गर्नु परेको’ जनाएको छ ।

पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहूति’ले क्रान्तिकारी शक्तिहरुबीचको एकताबाट मात्रै नेपाली जनताको अधिकारलाई सुनिश्चित गर्न सकिने भएकाले पनि आफूहरुले चुनाव बहिष्कारको कार्यक्रमलाई संयुक्त रुपमा अघि बढाएको उल्लेख गरे । तीन वटै पार्टीले चुनावको भण्डाफोर गर्ने भन्दै काठमाडौंमा कात्तिक २४ गते, बुटवल र इटहरीमा कात्तिक २६ गते, बर्दिबास र पोखरामा कात्तिक २८ गते तथा सुर्खेत र धनघढीमा कात्तिक ३० गते विरोध प्रर्दशन र कोणसभा आयोजना गरेका छन् । सो कार्यक्रम स्थानीयस्तरमा पनि आवश्यक्ताको आधारमा तय गरिएको पनि नेकपाका नेता प्रकाण्डको भनाई छ ।

प्रतिक्रिया सबै