९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

कोटेश्वरमा अण्डरपास, एयरपोर्टमुनि सुरुङमार्ग बनाउने ओनसरी घर्तीको घोषणा

 मङ्लबार, कार्तिक २२ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट काठमाडौं-२ का उम्मेदवार ओनसरी घर्तीले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छन् । उनले कोटेश्वरमा अण्डरपास बनाउने र त्रिभुवन विमानस्थलको मुनि सुरुङमार्ग बनाउने घोषणा गरेकी छन् ।

उनले जडिबुटीदेखि तीनकुनेसम्म अण्डर पास निर्माण गरी कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जाम हटाउने र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरुङमार्ग निर्माण गरी पेप्सीकोला–सिनामंगल आवतजावतको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएकी छन् ।

उनको प्रतिवद्धतामा साँखु–फड्केश्वर सडकलाई पूर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने, साँखु-बज्रयोगिनी-घुमारचोक-डाँडाकटेरी-चौही भञ्ज्याङ-धारापानी-पटाप-कुण्डेश्वर हुँदै सिन्धुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने घोषणा गरिएको छ ।

ओनसरीले आफ्नो प्रतिवद्धतापत्रमा चावहिल-साँखु सडकलाई मापदण्ड अनुसार यथाशीघ्र निर्माण सम्पन्न गराउने, शाली नदी-मनोहरा-मूलपानी-हरहर महादेव-पेप्सीकोला-नरेफाँट, बालकुमारी हुँदै मनोहरा करिडोर निर्माण गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न इलेक्ट्रिक ट्राम सञ्चालन गर्ने, मनोहरा खोलाको कटान तथा डुबान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने तथा जग्गा एकीकरण गर्न पहल गर्ने पनि उल्लेख गरेकी छन् ।

शंखरापुर नगरपालिका-३ जहरसिंहपौवामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, पेप्सीखोलादेखि सिनामंगलसम्म सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धता पनि उनले जनाएकी छन् ।

यस्तै, आवश्यक स्थानमा मेलम्ची खानेपानी आयोजना जडान गर्ने, तिनकुनेको मुआब्जासम्बन्धी समस्या समाधान गरी अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने, फोहोर र ढल व्यवस्थापन गर्ने पनि उनले प्रतिवद्धता जनाएकी छन् ।

प्रतिक्रिया सबै