९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

प्रचण्डले फेरि भने- जय नेपाल र लालसलाम एकठाउँमा भएपछि मात्रै देशमा ठुला परिवर्तन भएको छ

 बिहिबार, कार्तिक २४ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा माओवादी मिलेर नै देशमा शान्ति र परिवर्तन भएको बताएका छन् ।

गोरखा जिल्ला अजिरकोट गाउँपालिका-३, भच्चेकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा ठूला राजनीतिक परिवर्तन जय नेपाल र लालसलाम मिलेर नै भएको दोहोर्‍याएका हुन् ।

कुनै संकोच नमानी गठबन्धनको पक्षमा लाग्न आग्रह गर्दै उनले शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेदेखि नै कांग्रेस र माओवादीको सहकार्य भएको बताए ।

‘कांग्रेस र माओवादी मिलेर नै देशमा शान्ति र परिवर्तन भएको हो । गिरिजाप्रसाद कोइराला र मैले शान्ति प्रक्रियामा एउटै पानामा हस्ताक्षर गरेपछि एकले अर्कालाई त्यही बेलामा स्वीकारेका हौँ । त्यही दिन जय नेपाल र लालसलाम एकठाउँमा भएको हो’, प्रचण्डले भने ।

प्रतिक्रियावादीहरूले देशमा जातीय द्वन्द्व फैलाउन खोजेको पनि उनले बताए । ‘गठबन्धन निर्वाचनको लागि मात्रै भएको होइन । संविधान उल्ट्याएर देशलाई अध्यारोतर्फ धकेल्न खोजेपछि गठबन्धन बनाएका हौँ । यो राष्ट्रको आवश्यक बनेको छ’, उनले भने ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको प्रचण्डको भनाई छ । अहिले पनि संविधानविरुद्ध शक्तिहरू सक्रिय भएर टाउको उठाउन खोजेकाले सचेत हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया सबै