२३ जेष्ठ २०८१, बुधबार Wednesday 5 June, 2024

नेताहरु गाउँतिर युवाहरु विदेशतिर !

 शुक्रबार, कार्तिक २५ २०७९  

काठमाडौं । देश यतिबेला निवार्चनमय बनेको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेता, कार्यकर्ता एवंम उम्मेदवारहरु प्रचारप्रसार तथा भोट भाग्न व्यस्त छन् ।

नेताहरु यतिबेला गाउँ-गाउँमा भोट माग्न पुगिरहेका छन् । तर, बेरोजगारले छटपटिएका हजारौँ युवा भने कसरी विदेशमा पुगेर पैसा कमाएर परिवार-आफ्नो भबिष्य बनाउने भन्ने पिँडामा छन् । मतदान गर्ने दिन नजिकिँदै गर्दा देशका नागरिक भने रोजगारीका लागि विदेश जाने चटारोमा देखिन्छन् ।

सुदूरपश्चिम प्रदेशका नागरिकमा रोजीरोटीका लागि मुग्लान (भारत) जान बाध्य छन् । अहिले कैलालीका गौरीफन्टा र त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत जानेको लर्को नै लागेको छ । सुदूरपश्चिमबाट परदेशिनेको संख्या दिनानुदिन बढ्दै गएको हो ।

अहिलेसम्म कसै नेताले रोजगारीका लागि कलकारखाना नखोलेको र आफुहरु रोजगारी नपाएकोकार भारत जान बाध्य भएको धनगढीको त्रिनगर भन्सार नाका हुँदै भारत हिँडेका मिनराज काफ्लेको भनाई छ । उनले मतदानको दिन पखर्नुभन्दा चाँडै भारत पुग्न पाए छिट्टै आम्दानी गर्न सकिने बताए ।

तिहार मनाउन घर फर्किएका नेपाली निर्वाचनको माहोल तातिरहेका बेला रोजगारीका लागि भारत जान थालेका छन् । भारत जान लागेका अर्का युवा टेकसिंह रावलले पनि चुनावका बेला मात्रै हो नेताहरूले युवालाई यहीँ रोजगारी दिने भन्दै गाउँमा माइक लगाएर फुक्ने बताए । आम नेपालीले अरूको देशमा काम गर्न जानुपर्ने बाध्यता वर्षौँदेखि नटरेको उनको भनाई छ ।

आफू रोजगारीका लागि पहिलोपटक निर्वाचनमा भोट हाल्न छाडेर भारत पस्न लागेको भन्दै उनले दुःखेसो पोखे । ‘हो भोट हाल्न मन त थियो, तर के गर्नु,’ उनले भने, ‘भोटभन्दा भोको पेट ठूलो रैछ ।’

यस्तै, बितेको असोज महिनामा मात्रै ६२ हजार ७०७ जना नेपाली कामको खोजीमा विदेश गएका छन् । गत भदौमा यसरी विदेशिनेको संख्या ७६ हजार ४०३ जना थियो । गत साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थिए ।

विभागको तथ्यांक अनुसार असोजमा औसत २ हजार ९० जना नेपाली श्रमका लागि विदेश गएका छन् । भदौयता यस्तो औसत संख्या करिब २ हजार ५ सय थियो ।

असोजमा विदेशिनेमध्ये सबैभन्दा धेरै मलेसिया गएका थिए । एक महिनाको अवधिमा २७ हजार ६२ जना मलेसियामा रोजगारीका लागि पुगेका छन् ।

महामारीका कारण लामो समय बन्द रहेको मलेसियाको रोजगारी खुलेसँगै केही महिनादेखि त्यहाँबाट डिमान्ड बढेको छ । यसले गर्दा मलेसियामा पनि रोजगारीका लागि जानेको संख्या उच्च हुँदा विदेशिनेको संख्या नै औसतभन्दा बढी छ ।

असोजमा कतारमा ९ हजार ८४५, यूएईमा ७ हजार ८४५, साउदी अरेबियामा ६ हजार ५३६, कुवेतमा ३ हजार ४९७ र कोरियामा १ हजार ९१८ जना नेपाली श्रमिक पुगेका छन् ।

असोज महिनाको तथ्यांकअनुसार ३७ हजार ४१२ जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदेश पठाएका छन् । बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका हुन् ।

असोज महिनामा ४४ हजार ३४ जना श्रमिकले नयाँ श्रम भिसा (संस्थागत तथा व्यक्तिगत)मा विदेश जाने अवसर पाएका छन् । भदौमा यस्तो नयाँ श्रम भिसामा विदेश जाने नेपालीको संख्या ५७ हजार ९९३ थियो ।

प्रतिक्रिया सबै