२९ असार २०८१, शुक्रबार Friday 12 July, 2024

राप्रपाको चुनावी सभामा मनिषा कोइरालाको सम्बोधन : बिपी बालाई लिङ्देनले बिर्सेका छैनन्

 शुक्रबार, कार्तिक २५ २०७९  

काठमाडौं । चर्चित अभिनेत्री मनीषा कोइरालाले नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालाई अरूले बिर्सिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सम्झिरहने बताएकी छन् ।

राप्रपाले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अभिनेत्री कोइरालाले भनिन्- ‘अरू सबैले बिपी बालाई बिर्सेका होला, तर उहाँ (लिङ्देन)ले बिर्सेको रैनछ ।’

उनले राजा महेन्द्र र बिपीबीच राम्रो सम्बन्ध रहेको पनि दाबी गरिन् । ‘तपाईंहरूलाई थाहा छ कि छैन, व्यक्तिगत रूपमा श्री ५ महेन्द्र सरकार र बिपी बामा एकदम राम्रो आदर भाव हुँदाहुँदै पनि त्यो बखत मुलुकले ठूलो अवसर गुमाएको छ । किनकी, उहाँहरूले सहकार्य गर्न पाउनुभएन । अहिले फेरि त्यो मौका आएको छ’, उनले भनिन् । अहिले निर्वाचनमा राप्रपालाई जिताएर उक्त मौका गुमाउन नहुने भन्दै राप्रपाको लागि भोट मागिन् – ‘वहाँहरुलाई तपाईहरुले हलो चुनाव चिन्हमा मतदान गरेर अत्याधिक मतले विजयी गराउनुहोस् ।’

बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति, राजसंस्था र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको बाटो देखाएको र अहिले उक्त मुद्दा लिङ्देनले उठाएको उनको भनाई छ । अध्यक्ष लिङ्देनको भाषण अत्यन्त मिठो र घतलाग्दो रहेको भन्दै उनले त्यही भएर आफूले साथ दिएको बताईन् ।

‘मैले राजेन्द्र लिङ्देनको भाषण सुनिरहेको छु । मलाई उहाँको भाषण निकै घत लाग्दछ । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो वहाँले भनेको कुरा सुनेर लाग्यो वहा ! नेपालले एउटा असल नेतृत्व पायो । मलाई मनबाट लाग्यो । वहाँले भन्नु भएको जब नेताहरु गाउँ पुग्छन्, गाउँमा चोर आयो भन्छ भन्ने शब्द मलाई साह्रै मन पर्‍यो ।’

भारतीय चलचित्र उद्योग बलिउडमा ख्याती कमाएकी अभिनेत्री कोइराला नेपाली कांग्रेसका संस्थापक एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी हुन् । यसअघि अभिनेत्री कोइरालाले पोखरामा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै वीपी विचार बोकेकाले राप्रपालाई आफूले रोजेको बताएकी थिइन् ।

प्रतिक्रिया सबै